काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
पारित गरेको तीन महिनापछि साउन २३ गते कम्पनीले बोनस शेयर वापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गर्न सुरु गरेको हो । बोनस शेयर हितग्राही खातामानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोल्ने सदस्यहरूलाई यथासिघ्र खोली आफ्नो बोनस शेयर प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीको साविकको चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रूपैयाँको आधारमा ६ करोड ५३ लाख ६५ हजार ८०७ रूपैयाँ बराबरको बोनस शेयर वितरण गरेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा वैशाख ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।