काठमाडौं । बंगलादेशमा भएको राजनीतिक उथलपुथलपछि नेपालबाट हुने भनिएको बिजुली निर्यात अनिश्चित भएको छ । जारी आरक्षणविरोधी आन्दोलनले अत्यन्तै शक्तिशाली रुप लिएपछि प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिएर बहिनी शेख रहनासँग भारत पलायन भएकी छन् । उनी उतैबाट लण्डन जानसक्ने अनुमान गरिएको छ । यद्यपि त्यसको पुष्टि भएको छैन ।
सोमबार लाखौँ प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रधानमन्त्री निवासभित्र छिरेका थिए । तर प्रदर्शनकारी छिर्नुअघि नै प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री निवास छाडिसकेकी थिइन् । आन्दोलनरत प्रदर्शनकारीले हसिना सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा प्रवेश गरेर हर्षोल्लास गरेका छन् । हसिनाले राजीनामा दिएर विदेश पलायन भएको विवरण आएपछि सेनाप्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् । तर त्यहाँको राजनीति अन्यौलग्रस्त अवस्थामा पुगेको छ । किनभने सेनाले नयाँ सरकार गठनको तयारी गर्दैगर्दा विद्यार्थी आन्दोलन सञ्चालन गर्ने नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार बने त्यो अस्वीकार्य हुने बताएका छन् ।
बंगलादेशको राजनीतिमा उथलपुथल भएपछि नेपालबाट हुने बिजुली निर्यात् पनि अनिश्चित बन्न पुगेको छ । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा गत साउन १३ गते नै बंगलादेशमा विद्युत निर्यातको लागि सम्झौता हुने भनिएको थियो । त्यसका लागि ३ देशका ऊर्जामन्त्रीहरु दीपक खड्का, मनोहर लाल (भारत) र नसरुल हमिद (ऊर्जा राज्यमन्त्री बंगलादेश)को उपस्थितिमा त्रिपक्षीय हस्ताक्षर हुने तयारी गरिएको थियो । तर बंगलादेशमा आरक्षणविरोधी आन्दोलन चर्किसकेकाले उक्त सम्झौताका लागि हुने भेटघाट नै रद्द भएको थियो । त्यससँगै यसवर्ष बंगलादेशमा बिजुली बंगलादेश बिक्रीमा आशंका पैदा भएकोमा अब झनै अनिश्चित बनेको छ ।
नेपालले उत्पादन गरेको विद्युत बंगलादेशले खरिद गर्ने सहमति भइसकेको छ । नेपालको विद्युत भारतीय प्रसारणलाइन प्रयोग गर्दै निर्यात हुने भएकाले त्रिपक्षीय सम्झौताको तयारी पनि गरिएको थियो । यसअघि असार ९ र १० गते पोखरामा बैठक हुने तय भएको थियो । बंगलादेशका ऊर्जा राज्यमन्त्री नरसरुल हमिद नै आउने भएपछि बैठक स्थगित गरी सारिएको थियो ।
विद्युत् प्राधिकरणले विद्युत व्यापारको सम्झौतालगत्तै वर्षातमै बंगलादेशमा विद्युत् निर्यातको सुरुवात गर्ने तयारी गरेको थियो ।
सम्झौतासँगै नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्नेछ। प्रतिमहिना २८ हजार ८०० मेगावाट आवर बिजुली निर्यात हुने भनिएको छ । यसअनुसार हरेक वर्षको ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली बंगलादेशले पाउने थियो ।
५ महिनामा नेपालले कुल ९२ लाख १६ हजार अमेरिकी डलर अर्थात् करिब १ अर्ब २३ करोड रुपैयाँ (१ डलरको १३३.६५ रुपैयाँ विनिमय दरमा) को बिजुली बिक्री गर्नेगरी सम्झौता हुन लागेको थियो ।