काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वका चार कम्पनीको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार कित्ता, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९२ हजार ३४९ कित्ता संस्थापक शेयर साउन २२ गतेदेखि लिलामीमा आएको हो ।
यसअघि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर बिक्रीमा ल्याइएको थियो । विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो । इच्छुक खरिदकर्ताहरूले साउन २९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।
आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडसँगै एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौं र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य प्रतिकित्ता १०१ रूपैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको प्रतिकित्ता ८३३ रूपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता ३९९ रूपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १८५ रूपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै यी शेयर खरिद गर्न सकिनेछ ।