शीर्षकहरू

राष्ट्रिय स्तरका विकास बैंकको नाफा साढे ५ अर्ब, कसको कति ?

राष्ट्रिय स्तरका विकास बैंकको नाफा साढे ५ अर्ब, कसको कति ?

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय स्तरका विकास बैंकहरुले ५ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरुले सोमबारसम्म छुट्टा छुट्टै सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो । 

अहिले नेपालमा राष्ट्रिय स्तरका ८ विकास बैंक छन् । नियामक निकायको निर्देशनअनुसार सोमबारसम्म उक्त विकास बैंकहरुले गत आवको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । आर्थिक बर्ष सकिएको २१ दिन भित्र लेखा परिक्षण नभएको वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । गत आवमा भएको कारोबारको अन्तिम लेखा परिक्षण भने हुन बाँकी नै छ । 

गत आवमा यस्ता बैंकहरुको खुद नाफा ९ प्रतिशतले बढेको पनि वित्तिय विवरणले देखाएको छ । अघिल्लो आवमा ८ विकास बैंकले ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाए थिए । गत आवमा त्यो भन्दा ४७ करोड ७१ लाख रुपैयाँ बढी अर्थात् ५ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ खुद नाफा उक्त बैंकहरुले कमाएका छन् । 

नाफा कमाउने मामिलामा अग्र स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकले १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा उक्त बैंकले १ अर्ब २४ करोड ८२ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । त्योअनुसार गत आवमा पनि यो बैंकले नाफा बढाएको देखिन्छ । 

दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले १ अर्ब १३ करोड ६१ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा यो बैंकको खुद नाफा १ अर्ब २६ करोड ४६ लाख ४७ हजार रुपैयाँ थियो । त्योअनुसार गत आवमा यो बैंकको नाफा १२ करोड ८४ लाख रुपैयाँले घटेको देखिन्छ । यसैगरि गत आवमा २ वटा राष्ट्रिय स्तरका विकास बैंकले अर्ब भन्दा बढी नाफा कमाएका छन् । अन्य बैंकको नाफा अर्ब भन्दा कम नै रहेको छ । 

तेस्रो स्थानमा रहेको साइन रेसुंगा विकास बैंकले भने ६९ करोड ७४ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो अघिल्लो आवको तुलनामा ६ करोड ५ रुपैयाँले कम हो । अघिल्लो आवमा यो बैंकले ७५ करोड ८० लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

गत आवमा लुम्बिनी विकास बैंकले ६० करोड ३७ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा यो बैंकको खुद नाफा ४९ करोड ७६ लाख ७२ हजार रुपैयाँ थियो । त्यसको तुलनामा गत आवमा यो बैंकको नाफा उच्च दरमा बढेको देखिन्छ ।  

यस्तै, कामना सेवा विकास बैंकको नाफा पनि उच्च दरमा बढेको छ । अघिल्लो आवमा कामना सेवा विकास बैंकको खुद नाफा ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ थियो । गत आवमा त्यो २४ करोड १८ लाख ५३ हजार रुपैयाँले बढेर ६० करोड ३२ लाख १७ हजार रुपैयाँ पुगेको छ । 

यस्तै, सांग्रिला विकास बैंकको नाफा पनि २५ करोड रुपैयाँले बढेको देखिन्छ । अघिल्लो आवमा उक्त बैंकले २७ करोड ४ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवमा त्यो ५२ करोड ४ लाख ७३ हजार रुपैयाँ पुगेको छ । 
यस्तै, महालक्ष्मी विकास बैंकको नाफा पनि ९ करोड २५ लाख ८७ हजार रुपैयाँले बढेको छ । अघिल्लो आवमा उक्त बैंकले ३७ करोड ७५ लाख ५४ हजार रुपैयाँ  खुद नाफा कमाएको थियो । गत आवमा त्यो बढेर ४७ करोड १ लाख ४१ हजार पुगेको तथ्यांकले देखाएको छ । 

गत आवमा ज्योति विकास बैंकको नाफा भने ५ करोड ५३ लाख १५ हजार रुपैयाँले घटेको छ । गत आवमा यो बैंकको नाफा २४ करोड ६५ लाख १ हजार रुपैयाँ छ । अघिल्लो आवमा भने यो बैंकले ३० करोड १८ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो ।