शीर्षकहरू

वाणिज्य बैंकहरूको खुद नाफा: आधाको बढ्दा आधाको घट्यो

वाणिज्य बैंकहरूको खुद नाफा: आधाको बढ्दा आधाको घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सोमवारसम्म सबै वाणिज्य बैंकहरूले सार्वजनिक गरिसकेका छन् । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण अपरिस्कृत भएपनि लगानीकर्ताका लागि भने निकै महत्वपूर्ण मानिन्छ । कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय अवस्थालाई हेर्दा २० कम्पनीहरूमध्ये १० कम्पनीको खुद नाफा बढेको छ भने १० कम्पनीको घटेको छ । 

गत चौथो त्रैमाससम्म २० वाणिज्य बैंकको कुल नाफा भने ६४ अर्ब १५ करोड रूपैयाँभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष यस अवधिसम्म यो रकम ५६ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरूको खुद नाफा १३ दशमलव ४० प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्षको तुलनामा खुद नाफा बृद्धि गर्ने कम्पनीहरूमा पहिलो नम्बरमा प्रभु बैंक उभिएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २८ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको प्रभु बैंकले गत वर्ष सोही अवधिसम्म ४ अर्ब ४८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष प्रभु बैंकको खुद नाफा १ हजार ४९९ प्रतिशत बृद्धि भएको देखिन्छ । प्रभु बैंकको खुद नाफा गत वर्ष सर्वाधिक बढ्नुमा खुद ब्याज आम्दानीमा बृद्धि हुनुका साथै इम्पेरमेन्ट चार्ज घट्नु रहेको छ । अघिल्लो वर्ष १० अर्ब ६ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको प्रभु बैंकले गत वर्ष १२ अर्ब २ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको छ । इम्पेरमेन्ट चार्ज रकम अघिल्लो वर्ष ५ अर्ब २१ करोड रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ५५ करोड ६८ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो ।

प्रभु बैंकसँगै कुमारी बैंकको ३४५ दशमलन ६७ प्रतिशत, प्राइम कमर्सियलको २६७ दशमलव १९ प्रतिशत, कृषि विकास बैंकको १७६ दशमलव २३ प्रतिशत, हिमालयन बैंकको ८१ दशमलव ६० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ दशमलव ७१ प्रतिशत, लक्ष्मी सन्राइज बैंकको ३२ दशमलव ७९ प्रतिशत, नबिल बैंकको १० दशमलव २३ प्रतिशत, एभरेष्ट बैंकको १० दशमलव शुन्य ७ प्रतिशत र नेपाल एसबिआई बैंकको २ दशमलव ३५ प्रतिशत खुद नाफा बढेको हो । गत वर्ष खुद नाफा सर्वाधिक घट्नेमा एनआईसी एशिया बैंक रहेको छ । 

अघिल्लो वर्ष ४ अर्ब ४४ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको एनआईसी एशिया बैंकले गत वर्ष १ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत वर्ष एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेकाले खुद नाफामा उल्लेख्य कमि आएको हो । कम्पनीको वित्तीय विवरणलाई हेर्दा अघिल्लो वर्ष १२ अर्ब २५ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको यो बैंकले गत वर्ष १० अर्ब ६१ करोड रूपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।

इम्पेरमेन्ट चार्ज अघिल्लो वर्ष ७२ करोड १९ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष २ अर्ब ८४ करोड रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष एनआईसी एशिया बैंकसँगै नेपाल बैंकको ५१ दशमलव ८० प्रतिशत, सिटिजन्स बैंकको २७ दशमलव ९७ प्रतिशत, एनएमबि बैंकको २७ दशमलव ४९ प्रतिशत, माछापुच्छ्रे बैंकको २३ दशमलव शून्य ९ प्रतिशत, ग्लोबल आइएमई बैंकको १० दशमलव १३ प्रतिशत आम्दानी गरेको हो ।

 सानिमा बैंकको ८ दशमलव ५९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ५ दशमलव ४८ प्रतिशत, सिद्धार्थ बैंकको ४ दशमलव ७८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ दशमलव ५१ प्रतिशत खुद नाफा घटेको तथ्याङ्क छ । खुद नाफा घटबढको प्रमुख कारण इम्पेरमेन्ट चार्ज र खुद ब्याज आम्दानी रहेको देखिन्छ ।