काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौँदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगिरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारिता देखिने बताएका छन् । मन्त्रालयमा शुक्रवार सरुवा भएर आएका सचिव अर्जुनप्रसाद पोख्रेललाई स्वागत र सचिवसहित मन्त्रालय मातहतका उच्च अधिकारी र विभागीय प्रमुखलाई निर्देशन दिए ।
मन्त्री अधिकारीले कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व मिलेर अव जनताको अवस्था परिवर्तन गर्ने बेला भएको बताए । शुक्रबार मन्त्रालयमा पद बहाली गर्नु भएका सचिव पोख्रेलले मन्त्रालयबाट प्रवाह हुने सेवामा परिणाम ल्याउने गरी काम गर्न र समस्या भए समस्याको समाधानतर्फ ध्यान दिन आग्रह गरे ।
सरकारको सोच र मन्त्रीको निर्देशन अनुसार काम गर्ने सचिव पोख्रेलले प्रतिबद्धता व्यक्त गरे । मन्त्री अधिकारीले मातहत निकायलाई ३ वटा विषयमा नतिजा आउने गरी काम गर्न निर्देशन दिए । भूमि क्षेत्रमा देखिएका समस्या समाधानका लागि ऐन, कानुन र नियमावलीको निर्माण, संशोधन र परिमार्जन गरेर भए पनि स्थायीरुपमा भूमिहीन, किसान र सुकुम्वासी समस्या समाधान गर्ने गरी काम गर्न निर्देशन दिए ।
त्यसैगरी सहकारी क्षेत्रमा देखिएका विकृति हटाउनका लागि अधिकार सम्पन्न प्राधिकरण गठन र सहकारी पीडितको बचत फिर्ता मन्त्रालयको दोस्रो महत्त्वपूर्ण काम रहेको भन्दै मन्त्री अधिकारीले सहकारी समस्या समाधान गर्न सके मन्त्रालयप्रति नागरिकको विश्वास बढ्ने बताए ।