शीर्षकहरू

कक्षा १२ को कमजोर नतिजा, पाँच प्रदेशमा पासभन्दा फेल धेरै

कक्षा १२ को कमजोर नतिजा, पाँच प्रदेशमा पासभन्दा फेल धेरै
सांकेतिक तस्वीर

काठमाडौं । यस वर्ष कक्षा १२ को नतिजा कमजोर निस्किएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएकोमा ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । 

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा कुल तीन लाख ९० हजार ८६८ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा दुई लाख ३ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण हुँदा एक लाख ८७ हजार २१ जना विद्यार्थी एनजी/अनुत्तीर्ण भएका छन् ।

यस वर्ष दुई प्रदेशको नतिजा ठीकै देखिए पनि अन्य प्रदेशमा पासभन्दा फेल हुनेको संख्या बढी रहेको छ । बागमती प्रदेशबाट एक लाख १६ हजार २६२ जना परीक्षामा सहभागी भएकोमा ७८ हजार ११६ जना पास हुँदा ३८ हजार १४६ जना फेल भएका छन् । गण्डकी प्रदेशमा पास हुनेको संख्या फेल हुनेभन्दा थोरैले बढी छ । यस प्रदेशबाट ३४ हजार ७०४ जनाले परीक्षा दिएका थिए । जसमा १८ हजार ६७१ जना पास हुँदा १६ हजार ३३ जना फेल भएका छन् ।

बाँकी ५ प्रदेशमा पासभन्दा फेल हुनेको संख्या धेरै छ । कोशीबाट ६३ हजार १६७ जनाले परीक्षा दिएकोमा २८ हजार ३६ पास र ३५ हजार १३१ फेल, मधेशबाट ४८ हजार ५४१ ले परीक्षा दिँदा २२ हजार ४५५ पास र २६ हजार ८६ फेल भएका छन् ।

यसैगरी लुम्बिनीबाट ६६ हजार ६४६ जनाले परीक्षा दिएकोमा ३१ हजार ९६० पास र ३४ हजार ६८६ फेल, कर्णालीबाट २५ हजार ९२० जनाले परीक्षा दिएकोमा १० हजार ५६३ पास र १५ हजार ३५७ फेल तथा सुदूरपश्चिम ३५ हजार ६२८ जनाले परीक्षा दिएकोमा १४ हजार ४६ पास र २१ हजार ५८६ फेल भएका छन् ।

दुई विषयसम्म ननग्रेडिङ(अनुत्तीर्ण) परेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् भने सोभन्दा बढी विषयमा एनजी आएकाले ग्रेडवृद्धि परीक्षाका लागि अर्को वर्षसम्म कुर्नुपर्ने छ ।