शीर्षकहरू

पशुपति कोटिहोमका आयोजक ‘विजय कृष्णमूर्तिका’ अनेक ठगी धन्दा

पशुपति कोटिहोमका आयोजक ‘विजय कृष्णमूर्तिका’ अनेक ठगी धन्दा

यतिबेला काठमाडौंको पशुपतिनाथ मन्दिरमा एक महिने बृहत् कोटिहोम महायज्ञ जारी छ । महायज्ञका आयोजक हुन्, आफूलाई 'विजय कृष्णमूर्तिजी महाराज' भन्ने  विजय भण्डारी ।  उक्त महायज्ञमा देवी प्रतिभा नामकी वाचिकाले महिलाले पुरुषको सेवा गर्नुपर्छ, एक पनि गुण नभए पनि पुरुषको सेवा गर्नुपर्छ भनेपछि अहिले उक्त अभिव्यक्तिमाथि पक्ष विपक्षमा बहस भइरहेकै छ ।

तर, उक्त महायज्ञका आयोजक नै विवादित पृष्ठभूमिका व्यक्ति हुन् । उनलाई मानव तस्करीको आरोप छ । यसअघि लगाइएका महायज्ञहरुमा त्यहाँ उनले अमेरिका पठाउँने भन्दै केहि व्यक्तिहरुसंग रकम संकलन गरेर पछि अमेरिका नपठाएको उनीमाथी आरोप छ । पैसा संकलन गरेर अमेरिका पठाउँछु भन्नेलाई उनले पैसा फिर्ता गर्न नसकेपछि महायज्ञहरुमा कलाकार बनाएर लैजाने गरेका छन् । 

गेरुवस्त्रधारी जोगी र बाबाहरुले अनेकौं अनैतिक धन्दा र आपराधिक क्रियाकलापहरु गरेका समाचार दिनहुँ सार्वजनिक भइरहेकै हुन्छन् । स्वघोषित ठूला योगी र महाराजको पगरी गुथेका ठगहरु भने यस्ता कुराबाट थोरै पनि बिचलित भएका देखिँदैनन्।  उनीहरुको ठगी  धन्धा चलिरहेकै छ । खुलेआम मानिसहरुलाई लुटिरहेका छन् ।

यस्तै एउटा नाम हो, विजय भण्डारी उर्फ 'विजय कृष्णमूर्तिजी महाराज' । गुल्मी धुर्कोट घर भएका उनी ठगी पेशामा माहिर छन् । यतिसम्म कि उनी नाम फेर्दै ठगी धन्दामा सक्रिय छन् । यसअघि उनी 'बालयोगेश्वर महाराज'का नाममा ठगी धन्दामा सक्रिय थिए । उनले धार्मिक कार्यक्रमका लागि अमेरिका लगेर उतै सेटल गराइदिन्छु भन्दै कयौँसंग करोडौं रकम ठगेका थिए । सतहमा हेर्दा उनी भागवत वाचन गर्ने पण्डित हुन् तर उनको धन्धा भने अलग छ । 

उनले मानव सेवा फाउन्डेसन, विजय कृष्णमूर्तिजी महाराज फाउन्डेसन, मामाघर अनाथालय, छोरीको घर ज्येष्ठ नागरिक आश्रम, श्री हिन्दू सेना, डोनेट फर नेपाल, मामाघर परोपकार तथा सेवा आश्रम, श्री माइतीघर ज्येष्ठ नागरिक सेवा तथा स‌ंरक्षण केन्द्र, पञ्चकण्याधाम एव‌ं गाईघाट क्षेत्र संरक्षण तथा विकास प्रतिष्ठान, स्वधर्म परिवार र हजुरहरू र हामी संस्था चलाइरहेका छन् ।

उनको धार्मिक आश्रम र संघसंस्थामा मात्रै होइन, होटल तथा रेष्टुराँहरूमा पनि लगानी रहेको छ ।

५ वर्षअघि भण्डारीले अमेरिका लैजाने भन्दै सयौंसँग अवैध रूपमा रकम उठाएपछि कलंकीमा रहेको आश्रम छाडेर हिँडेका थिए । उनले एक समय नवलपरासीको कावासोतीका स्थानीय नर्मदेश्वर शिवालय मन्दिरको व्यवस्थापन समितिलाई फकाएर आफूलाई पिठाधीश घोषणा गरेका थिए । तर, कथित  महाराजले अमेरिका लैजाने भन्दै मानिसलाई ठग्ने गरेको थाहा पाएपछि व्यवस्थापन समितिले उनलाई पिठाधीशबाट निष्काशन गर्यो । 

पिठाधीशबाट निकालिए पनि भण्डारीले आफ्नो पेशा भने छाडेका छैनन्। विभिन्न ठाउँमा यज्ञ, होम र धान्याचल महायज्ञ सञ्चालन गर्दै आएका छन् । उनी कति बाठा भने धार्मिक कार्यक्रम आयोजना गर्न पहिले मानिसलाई उक्साउँछन् ।  सुरुमा लक्ष्य अनुसारको रकम नउठे आफूले कुनै रकम नलिने भनेर आयोजकसँग बाचा गर्छन् । तर, यज्ञ सकिएपछि उठेको रकम एक्लैल कुम्ल्याएर हिँड्ने गरेका कारण  बारम्बार विवादमा आइरहन्छन् । 

महायज्ञका नाममा शृंखलाबद्ध ठगी धन्दा चलाएका विजय भण्डारीविरूद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा दर्जनौँ जाहेरी परेको समाचार स्रोत बताउँछ । २८ जना पीडितले एक करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी २०७१ असोजमा पक्राउ समेत परेका थिए । 

जेल त पानी पँधेरो 

२०७३ मंसिर ६ मा काठमाडौंले जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो । त्यसअघि उनी पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर उनी २०७३ चैत १४ मा रिहा भएका थिए । 

त्यसो त जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै महाराज उच्च अदालत पाटन पनि पुगे । २०७५ मंसिर ११ मा उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदियो । अदालतबाट पीडितकै पक्षमा फैसला भए पनि त्यतिबेला ठगिएकाहरूले पैसा भने अझै पाएका छैनन् । महाराजको यो पहिलो जेल यात्रा भने थिएन । २०६९ कात्तिक १४ पनि ठगी मुद्दाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर वैदेशिक रोजगार विभागलाई बुझाएको थियो । 

बुटवलका रमेश खनाल, काठमाडौं मच्छेगाउँका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारी ठगी मुद्दामा जाहेरी दिएका थिए । विभागले अनुसन्धान गरी उनीविरुद्धको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणको कार्यालयमा दर्ता गरेको थियो ।

लामो बहसपछि न्यायाधिकरणको कार्यालयले २०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र १ लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो । मुद्दा सुनवाइकै क्रममा उनी २०६८ साउन ३२ मा एक दिन, २०६८ फागुन ११ मा एक दिन र २०६९ कात्तिक १४ मा दुई दिन मुद्दाको पुर्पक्षका लागि थुनामा परेका थिए । 

थुनामा बसेको दिन कटाएर उनले एक वर्ष ५ महिना २७ दिन कैद सजाय भुक्तान गर्नुपर्ने देखिन्थ्यो । फैसलाको निर्णय पनि बुझ्न नआएपछि न्यायाधिकरणको कार्यालयले अन्तिम फैसलाको सूचना उनको घरमा टाँस गर्न भन्दै २०७५ चैत २४ गते जिल्ला अदालत गुल्मीलाई पत्राचार गरेको थियो । उनको घर नभेटेपछि धुर्कोट गाउँपालिका– ५ को वडा कार्यालयको भित्तामा फैसला टाँस गरेका थिए । न्यायाधिकरणको फैसलापछि उनी स्वतः फरार अभियुक्तका रूपमा दरिएका छन् । प्रहरी र कानुन कार्यान्वयन गर्ने जुनसुकै सरकारी निकायले उनलाई पक्राउ गरेर बुझाउन सक्थे । तर राजनीतिक कनेक्सनका आधारमा उनी लुकिछिपी धार्मिक गतिविधिमा सक्रिय भइराखेका छन् ।

२०७६ भदौ २८ देखि असोज ११ सम्म गुल्मीको रिडीमा आयोजित महायज्ञमा महाराज उपस्थित हुने सुइँको पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्ने तयारी थालेको थियो । जिल्ला अदालत गुल्मीको फैसला कार्यान्वयन गर्न प्रहरी, प्रमुख जिल्ला अधिकारीको बैठकसमेत बसेको थियो । तर चलाख ठगले पक्राउबाट जोगिन न्यायाधिकरणको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थाहा पाएपछि प्रहरी पछि हट्यो । उनले पक्राउ परिने डरले नाम नै बालयोगेश्वर महाराज राखे । ठगी मुद्दाकै कारण महाराज २०७६ वैशाखमा १९ दिन डिल्लीबजार कारागारमा थुनामा बसेका थिए । गत वैशाख १३ मा जेल परेर ३१ गते थुनामुक्त भएको डिल्लीबजार कारागारको अभिलेखमा देखिन्छ । 

महायज्ञ नै अलपत्र 
२०७६ माघमा पच्चीस करोड रुपैयाँ उठाउने लक्ष्य राखेर एक महिने भरतपुर महानगरपालिका–२३ मा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नारायणगढस्थित नारायणी नदी किनारमा एक महिने महायज्ञ सुरु भएको थियो  । ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरसत (१०८) श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ नाम दिएर महायज्ञ सुरु भएको थियो । 

महायज्ञबाट २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । भरतपुर–२३ को पशुपतिनाथ मन्दिरलाई बृहत् धामका रूपमा विकास गर्ने, चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय खोल्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्न यज्ञ आयोजना गरिएको बताइएको थियो । तर महायज्ञका प्रमुख बाचक नै ठग भएको थाहा पाएपछिउनको प्रवचन सुन्न आउने मानिस पातलिए ।

त्यसबेला आफ्नो ठगी धन्दाको बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार बाहिरिन थालेपछि महायज्ञका प्रमुख वाचक ’बालयोगेश्वर महाराज’ फरार भए । प्रमुख वाचक रहेका स्वामी बालयोगेश्वरलाइ महायज्ञ आयोजक संस्थाले नै प्रवचनमा रोक लगाएपछि उनी फरार फरार भएका थिए ।  उनी फरार भएपछि महायज्ञ आयोजकले नयाँ वाचक ल्याई कार्यक्रमलाई निरन्तरता दिएका थिए। उनी महाराज होइनन् महाठग हुन भन्ने समाचार सार्वजनिक भएपछि त्यसबेलै महायज्ञ नै विवादमा परेको थियो ।

झण्डै फसेका थिए तत्कालीन उपराष्ट्रपति नै
त्यसबेला तत्कालीन उपराष्ट्र्रपति नन्दबहादुर पुन नारायणी नदी किनारमा हुने १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञको उद्घाटन गर्न चितवन पुगेका थिए  । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न सबै तम्तयार थिए । 

भरतपुर विमानस्थलमा उत्रेपछि उपराष्ट्रपति पुनले आफूलाई बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको ठगी र जालझेलका धन्दाबारे थाहा पाए ।  त्यसपछि उनि महायज्ञ उद्धघाटन नै नगरी फर्किए । २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर आयोजना गरिएको एक महिने यज्ञका मुख्य वक्ता नै ठगी पृष्ठभूमिका भएको खबर थाहा पाएपछि उपराष्ट्रपति विवादमा तानिने सम्भावना देखियो भन्दै फिर्ता भएका थिए । उपराष्ट्रपति फिर्ता भएपछि निर्धारित समयभन्दा ढिलोगरी  चितवन जिल्ला समन्वय समितिकी उपाध्यक्ष मुनाकुमारी श्रेष्ठलाई महायज्ञको प्रमुख अतिथी बनाएर यज्ञ सुरु गरिएको थियो ।