शीर्षकहरू

भारतीय बैंकहरूममा ठूलो ‘साइबर अट्याक’, ३०० बैंकको कामकाज ठप्प

भारतीय बैंकहरूममा ठूलो ‘साइबर अट्याक’, ३०० बैंकको कामकाज ठप्प

एजेन्सी । भारतीय बैंकहरूमा ठूलो साइबर हमला भएपछि करिब ३०० साना बैंकहरूलाई भुक्तानी प्रणालीबाट अस्थायी रूपमा काटिएको छ। यी बैंकहरूका लागि बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउने सीएज टेक्नोलोजिज आक्रमणको शिकार भएको थियो । 

सीएज टेक्नोलोजिजले देशभरका साना बैंकहरूलाई बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउने गरेको छ । हमलाबारे कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।

भुक्तानी प्रणालीको निरीक्षण गर्ने निकाय नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीएल) ले बुधबार राति एक सार्वजनिक सूचना जारी गर्दै सीएज टेक्नोलोजिजबाट सञ्चालित खुद्रा भुक्तानी प्रणालीमा पहुँच गर्नबाट उक्त कम्पनीलाई अस्थायी रूपमा हटाएको जनाएको छ।

सीएजले सेवा प्रदान गर्ने बैंकका ग्राहकहरूले यस आइसोलेसन अवधिमा भुक्तानी प्रणालीहरू प्रयोग गर्न सक्ने छैनन् । लगभग ३०० साना बैंकहरू देशको फराकिलो भुक्तानी नेटवर्कबाट काटिएको नियामक प्राधिकरणका अधिकारीहरूले भनेका छन् । साइबर आक्रमणको प्रभाव थप नफैलियोस् भनेर यो कदम चालिएको हो ।

साइबर आक्रमणले प्रभावित धेरैजसो साना बैंकहरू भएकाले देशको भुक्तानी प्रणाली भोल्युमको करिब ०.५५ मात्र प्रभावित भएको एनपीसीएलको भनाइ छ । भारतमा करिब १५ सय साना सहकारी र क्षेत्रिय बैंकहरू रहेका छन्, जो प्रायः ठूला सहरहरू बाहिर सञ्चालन हुन्छन् । यी मध्ये केही बैंकहरू प्रभावित थिए । आक्रमण थप नफैलियोस् भनेर एनपीसीआईले लेखापरीक्षण गरिरहेको बताइएको छ ।