शीर्षकहरू

अघिल्लो कार्यकालका गल्ती सच्चाउने प्रयासमा प्रधानमन्त्री

अघिल्लो कार्यकालका गल्ती सच्चाउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । अघिल्लो कार्यकालमा प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी बैठक राखेपछि आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक गल्ती सच्चाउने भएका छन् । सरकारी कार्यालयमा बैठक राखेपछि उनको आलोचना भएको थियो ।

एक अन्तर्वार्तामा पार्टी बैठक सरकारी कार्यालयमा हुन्छ कि पार्टी कार्यालयमा भनी सोधिएको प्रश्नमा उनले भनेका थिए, 'मैले जहाँ बोलायो, त्यहीँ हुन्छ ।' तर यस कार्यकालमा भने उनले एमाले पार्टी कार्यालय मनोहरा खोलामा आएको बाढीको डुबानमा परेर बैठक बस्न नसक्ने भए पनि सरकारी निवासमा नभई अन्यत्रै बैठक बोलाएका छन् ।

सामाजिक सञ्जालमा उनले आज बिहान एक स्टाटस लेख्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उनले गरेका हुन् ।

उनले लेखेका छन्, 'शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’
 
राजधानीको एक होटलमा आज बिहान ११ बजे एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो ।