शीर्षकहरू

कृषि सहकारी समूहमा आबद्ध विपन्न महिलालाई बङ्गुर वितरण

कृषि सहकारी समूहमा आबद्ध विपन्न महिलालाई बङ्गुर वितरण

कैलाली । जिल्लाका कृषि सहकारी समूहमा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बङ्गुरका पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । जिल्लामा सञ्चालित २३ वटा कृषि सहकारी संस्थामा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई एक–एकवटाका दरले पाठापाठी वितरण गरिएको हो ।

विपन्न लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित, एकल महिला, मुक्तकम्लरी, कमैया, हलियाको जीविकोपार्जनमा सुधार गर्न आर्थिक वर्ष २०८०/८१ मा पाँच सय ४८ वटा उन्नत जातका बङ्गुरका पाठापाठी वितरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताए । कृषि सहकारीमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा पाठा वितरण गरिएको उनले जानकारी दिए । 

बङ्गुरका पाठापाठी वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै  व्यावसायिक उत्पादनमा सहयोग पुग्ने सूचना अधिकारी कठायतले बताए । विपन्न महिलालाई व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित गर्न पाठापाठीसँगै तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए ।  

आर्थिक वर्ष २०८०/८१ मा रु ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दरअनुसार प्रतिबङ्गुरको पाठी रु पाँच हजार पाँच सय १२ र पाठो रु छ हजार ६३ का दरले खरिद गरी वितरण गरिएको बताएको छ । आव २०७७–७८ मा एक सय ७०, २०७८/७९ मा छ सय ५८ र २०७९/८० मा सात सय ९८ वटा बङ्गुरका व्यावसायिक फर्म कैलालीमा दर्ता भएका  केन्द्रले जनाएको छ ।