काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ३८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष कम्पनीले ७५ प्रतिशत बढी खुद नाफा गरेको हो ।
अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीले १ करोड ३६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीले १९४ दशमलव ३८ प्रतिशत बढी सञ्चालन नाफा भएकाले कम्पनीको खुद नाफा बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले १ करोड १ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष २ करोड ९७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
१३ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर १० करोड ७६ लाख १८ हजार रूपैयाँ चुक्तापूँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम ५ करोड ३३ लाख रूपैयाँभन्दा बढी रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २६ करोड ८० लाख रूपैयाँभन्दा बढी कर्जा लिएको कम्पनीले ३४ करोड ९१ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
कर्जा प्रवाह भने १२ महिनामा १ अर्ब ६६ करोड रूपैयाँभन्दा बढी रहेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष १ दशमलव ८३ प्रतिशत रहेकोमा गत वर्ष १ दशमलव ६३ प्रतिशतमा झरेको हो । वार्षिक प्रतिशेयर आम्दानी २२ रूपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ रूपैयाँ ५५ पैसा रहेको छ । कोशी प्रदेश कार्य क्षेत्र रहेको कम्पनीले ८ जिल्लामा २५ ओटा शाखा कार्यालयमार्फत २२ हजार २८९ सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।