शीर्षकहरू

जहाज दुर्घटनाको छानबिनका लागि रतीशचन्द्रलालको संयोजकत्वमा आयोग गठन

जहाज दुर्घटनाको छानबिनका लागि रतीशचन्द्रलालको संयोजकत्वमा आयोग गठन

काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिनका लागि रतीशचन्द्रलाल सुमन संयोजकत्वमा आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलालको संयाजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगमा प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् भने नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी सदस्य रहेका छन् ।

आयोगलाई ४५ दिनभित्र दुर्घटनाबारे छानबिन गरेर प्रतिवेदन पेस गर्न भनिएको छ ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा जहाजमा सवार पाइलटबाहेक सबै १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका थिए ।