काठमाडौं । साउन ४ गतेदेखि विक्रीमा आएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंगलबार विहान १० बजेसम्म कम्पनीको एफपीओ निष्कासनका लागि मागभन्दा ४५० गुणा आवेदन परिसकेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवार विहान १० बजेसम्म १४ लाख ४३ हजार ४४७ जनाबाट २ करोड १० लाख २८ हजार ७४० कित्ता एफपीओ खरीद माग गरेका छन् । मागभन्दा बढी आवेदन पहिलो दिनमै परिसकेको यस कम्पनीले छिटो अवधि साउन ८ गतेसम्म मात्र एफपीओ विक्री गर्न लागेको हो ।
यस अवधिसम्म आवेदन प्राप्त नभएको अवस्थामा साउन १८ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको थियो । धितोपत्र दोस्रो बजारमा १ हजार रूपैयाँभन्दा बढी मूल्य कायम रहेको कम्पनीले प्रतिकित्ता १०० रूपैयाँमै एफपीओ निष्कासन गरेको हो ।
अधिकृत पूँजी १ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँभन्दा बढी रहेको छ । हाल ९१ करोड ७ लाख ८२ हजार रूपैयाँभन्दा बढी चुक्तापूँजी कायम रहेको कम्पनीले एफपीओ निष्कासन तथा बाँडफाँटपछि ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँभन्दा बढी चुक्तापूँजी कायम गर्नेछ ।
एफपीओपछि कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम हुनेछ । हाल कम्पनीमा संस्थापतर्फ ७० दशमलव ३६ प्रतिशत रसर्वसाधारण तर्फ २९ दशमलव ६४ प्रतिशत शेयर स्वामित्व रहेको छ । एफपीओ विक्रीबाट संकलित पूँजी कम्पनीले व्यावसायिक प्रयोजनका लागि उपयोग गर्नेछ । कम्पनीले २६ लाख ७२ हजार रूपैयाँभन्दा बढी रकम विपन्न बर्गमा कर्जा लगानी र २० लाख रूपैयाँभन्दा बढी रकम तरलता व्यवस्थापनमा उपयोग गर्ने बताएको छ ।
यो एफपीओ खरिदका लागि लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै कम्पनीको एफपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट एफपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीले एफपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।