बागमती । नेपाली कांग्रेस बागमति प्रदेशको मुख्यमन्त्रीको दावी पेश गरेको छ । संसदीय दलका नेता बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ बागमति सरकारको नेतृत्व लिन तयारीमा रहेका छन् । यसभन्दा पहिलाका संसदीयदलका नेता भएका कारण इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेसका प्रदेशसभा सदस्यहरूले बताएका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको हो ।
दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको र संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुने लामाले बताएका छन् । नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुनासाथ बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताएका छन।
कुल एक सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।