शीर्षकहरू

गत आवमा शेयर कारोबारबाट सरकारलाई साढे ५ अर्ब राजश्व

गत आवमा शेयर कारोबारबाट सरकारलाई साढे ५ अर्ब राजश्व

काठमाडौं । नेपाल सरकारले शेयर कारोबारमा हुने नाफाबाट गत आर्थिक बर्ष २०८०/८१ मा ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ (पुँजीगत लाभकर) राजश्व प्राप्त गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त गत आवको तथ्यांकले यस्तो देखाएको हो ।

समिक्षा बर्षमा सरकारले प्राप्त गरेको यस्तो पुँजीगत लाभकर अघिल्लो आव २०७९÷८० को तुलनामा ८५.४० प्रतिशतले बढी हो । सो आवमा २ अर्ब ९७ करोड ५ लाख ८९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । गत आवमा त्यो भन्दा २ अर्ब ५३ करोड ७१ लाख ११ हजार रुपैयाँ बढी पुँजीगत लाभकर उठेको छ । 

गत आवमा दीर्घकालिन पुँजीगत लाभकर १ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ रहेको छ । यसैगरि अल्पकालिन पुँजीगत लाभकर ३ अर्ब ३४ करोड ६ लाख रुपैयाँ र सस्थागत पुँजीगत लाभर ७४ करोड ९ लाख ३७ हजार रुपैयाँ उठेको छ ।

शेयर कारोबार गर्दा हुने खुद नाफामा लगानीकर्ताले तोकिएको दरमा सरकारलाई कर तिर्नुपर्छ । खरिद गरेको एक बर्षपछि बिक्री गरेको शेयरमा भएको खुद नाफामा ५ प्रतिशत कर तिर्नुपर्छ । खरिद गरेको एक बर्ष भित्रै बिक्री गरेको शेयरमा हुने खुद नाफामा ७.५ प्रतिशत पुँजीगत नाफा तिर्नुपर्छ । घाटा भएमा भने कर तिर्नु पर्दैन ।

अघिल्लो आवमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक घटेको थियो । तर, गत आवमा नेप्से परिसुचक सँगै कारोबार रकम पनि बढेको थियो । त्यसले गर्दा गत आवमा पुँजीगत लाभकर संकलन उच्च मात्रामा घटेका जानकारवालाहरु बताउँछन् । 

यस्तै, आर्थिक बर्षको सुरुवातमा अर्बाै रुपियाँको  आईपीओ पनि निष्काशन भएको थियो । त्यसले पनि पुँजीगत लाभकरबाट उठ्ने राजश्व बढाएको बताइएको छ ।  यसअघि आव २०७६÷७७ मा ९८ करोड ५२ लाख ८६ हजार रुपैयाँ मात्रै पुँजीगत लाभकर उठेको थियो । त्यसबेला शेयर कारोबार कम हुने गर्दथ्यो । नेप्से सुचक पनि कम थियो । 

तर, आव २०७७÷७८ मा एकै पटक १४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । त्यसपछि २०७८÷७९ मा पनि १० अर्ब ३५ करोड ३० लाख रुपैयाँ यस्तो राजश्व उठेको थियो । त्यसबेला नेपाली शेयर बजार नयाँ उचाईमा पुगेको थियो । त्यो समयमा अधिकांश शेयर कारोबारमा लगानीकर्ताले नाफा नै कमाएका  थिए । त्यसले गर्दा पुँजीगत लाभकर संकलन पनि उच्च थियो । तर, बजार घट्ेपछि आव २०७९–८० मा  २ अर्ब ९७ करोड ५ लाख रुपैयाँ मात्रै पुँजीगत लाभकर उठेको थियो । तर, गत आवमा शेयर बजार केही बढ्ेपछि पछि त्यो साढे ५ अर्ब रुपैयाँ माथि पुगेको हो ।

गत आवमा साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । त्यसपछि भदौंमा १४ करोड ६९ हजार रुपैयाँ, असोजमा २१ करोड ९५ लाख ७९ हजार  रुपैयाँ, कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार  रुपैयाँ, मंसिरमा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ, पुसमा ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ, माघमा ९७ करोड २० लाख ३ हजार रुपैयाँ र फागुनमा ४४ करोड ९ लाख २२ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । 

यस्तै, चैतमा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ, बैशाखमा ३६ करोड, २७ लाख ४२ हजार रुपैयाँ, जेठमा ७० करोड ४२ लाख रुपैयाँ र असारमा ६५ करोड ४ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।