काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ लागेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २६ हजार ५२२ उजुरी परेका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरीहरू परेका छन् । जसमध्ये २७ हजार ३७५ उजुरी फर्छ्यौट गरिएका छन् । जुन कुल उजुरी सङ्ख्याको करिब ७६.४९ प्रतिशत हुन आउँछ ।
रङ्गेहात कारबाहीको सङ्ख्या ३१ रहेको छ भने नगद बरामद ५१ लाख ४२ हजार पाँच सय रहेको छ । रङ्गेहात कारबाहीमा पक्राउ सङ्ख्या ४४ व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२ रहेका छन् । त्यसैगरी, ९ जना लेखापढी व्यवसाय/बिचौलिया/मतियार र ३ जना वडाध्यक्ष परेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा २०१ मुद्दा विशेष अदालतमा दायर गरिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षक अन्तर्गत दायर भएका मुद्दाको विवरणहरू हेर्दा गैरकानूनी लाभका सबैभन्दा धेरै रहेका छन् । गैरकानुनी लाभहानीमा ५८ मुद्दा दायर भएका छन् ।
दुई सय एक आरोपपत्रमा प्रतिवादीको सङ्ख्या १५२० रहेको छ । जसमध्ये राष्ट्रसेवक कर्मचारीको सङ्ख्या ५२४ हुँदा निर्वाचित जनप्रतिनिधिहरू एक सय एक रहेका छन् । विशेष अदालतमा आरोप पत्रबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।