शीर्षकहरू

ओमाननजिकै समुद्रमा तेल ट्यांकर पल्टियो, १३ भारतीय र ३ श्रीलंकी बेपत्ता

ओमाननजिकै समुद्रमा तेल ट्यांकर पल्टियो, १३ भारतीय र ३ श्रीलंकी बेपत्ता

काठमाडौं । ओमाननजिकैको समुन्द्रमा एउटा तेल ट्यांकर पल्टिएको छ । जहाजमा १३ भारतीय र ३ श्रीलंकालीसहित १६ जना चालक दलका सदस्य थिए । ती सबै बेपत्ता छन्।

घटना सोमबारको भए पनि ओमानको सामुद्रिक सुरक्षा केन्द्रले मंगलबार उक्त जानकारी दिएको हो ।सामुद्रिक सुरक्षा केन्द्रका अनुसार प्रेस्टिज फाल्कन नामको तेल ट्यांकर दुबईको हमरिया बन्दरगाहबाट हिँडेको थियो । यसमा कोमोरोसको झण्डा राखिएको थियो। यो यमनको अडेन बन्दरगाह जाँदै थियो। तेल ट्यांकर रास मद्राकाबाट करिब ४६ किलोमिटर दक्षिण पूर्वमा बन्दरगाह सहर दुक्म नजिकै पल्टिएको हो । चालक दलका सदस्यहरुको खोजीमा दुई दिनदेखि खोजी कार्य भइरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जहाज अझै पनि समुद्रमा उल्टो डुबेको छ । त्यसबाट तेल लिक भएको हो वा होइन भन्ने जानकारी भने आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार डुबेको ट्यांकरको स्थान चार दिनअघि अपडेट गरिएको थियो।

यो लगभग ११७ मिटर लामो तेल ट्यांकर हो, जसलाई २००७ मा निर्माण गरिएको थियो । सामान्यतया यस्ता साना ट्यांकर छोटो यात्राका लागि प्रयोग गरिन्छ।