शीर्षकहरू

शिवशिखर र तुलसी सहकारीका साना बचतकर्ताहरूलाई मार्टको सामान दिइने

शिवशिखर र तुलसी सहकारीका साना बचतकर्ताहरूलाई मार्टको सामान दिइने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त दुई सहकारीका बचतकर्ताहरूलाई बचतको रकम फिर्ता गर्ने भएको छ । समितिले समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूलाई बचत फिर्ता बापत यी सहकारीले सञ्चालन गरेका मार्टहरूका सामान दिने भएको हो । 

‘दाबी पेस गरेको बचतकर्ताहरू सरोकारवालहरू वा अन्य व्यक्तिले सामान लिई आफ्नो बचत दाबी फिर्ता लिन चाहेमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तत् तत् स्थानीय निकाय (गार्डेन मार्ट रहेको महानगर, उप–महानगर, न. पा. र गा.पा.) को सहकारी शाखामा निवेदन दिनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

बचतको रकम भने साना लगानीकर्ताहरूले मात्रै पाउने भएका छन् । हालसम्म दाबी पेस भएका बचतकर्तामध्येबाट साना बचतकर्ताहरूलाई मार्टको समान दिइने समितिका सदस्य सचिव केशव प्रसाद पौडेल जानकारी दिए । 

पौडेलले आर्थिक न्युजसँग भने, ‘सबैलाई दिन सम्भव छैन । साना बचतकर्ताहरूलाई मात्रै सामान दिन्छौँ । दाबी पेस भएको आधारमा सामान मूल्याङ्कन गरेर दिन्छौँ ।’ उनले जनाए अनुसार यी सहकारीहरूले मार्ट खोलका स्थानका बचतकर्ताहरूलाई मात्रै उक्त मार्टका सामान दिइने भएको छ । 

सदस्य सचिव पौडेलका अनुसार तुलसी सहकारी गत भदौ २५ गते समस्याग्रस्त घोषणा भएको थियो । हालसम्म ५ हजार ४४३ जना बचतकर्ताहरूले एक अर्ब ५५ करोड ८१ लाख ६१ हजार ३१ रुपैयाँ माग दाबी गरेका छन् । 

हालसम्म बचतकर्ताले दाबी पेस गरेको तथ्यांक हेर्ने हो भने शिवशिखर सहकारीको ९ अर्ब रुपैयाँ भन्दा बढी बचत फिर्ता गर्नु पर्ने देखिन्छ । हालसम्म ३२ हजार ६१३ जनाले ९ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपैयाँ बचत दाबी पेस गरेका छन् । यो सहकारी पनि तुलसीसँगै समस्याग्रस्त घोषणा भएको थियो ।  

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका विभिन्न स्थानहरूमा मार्ट रहेको पाइएको छ । यस सहकारीले देशभरका विभिन्न स्थानहरूमा १७ वटा मार्ट सञ्चालन गरेको थियो । 

समितिका अनुसार शिवशिखरका भक्तपुर, काठमाडौं, बाग्लुङ, कास्की, सुर्खेत, बाँके, दाङ, कञ्चनपुर, डडेल्धुरा, चितवन र रुपन्देहीमा मार्ट रहेका छन् ।  

त्यस्तै, तुलसी सहकारीको पनि चार ठाउँमा मार्ट रहेको पाइएको छ । यस सहकारीले उदयपुर, सिराहा, मोरङ र झापामा मार्ट सञ्चालन गरेको थियो ।