शीर्षकहरू

देशभर १ लाख बढी लाइसेन्स नक्कली, थप १० जनाविरुद्ध मुद्दा दर्ता

देशभर १ लाख बढी लाइसेन्स नक्कली, थप १० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएको आरोपमा थप १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । ‍यातायात व्‍यवस्था कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख केशव अर्यालसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

हाल  लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत अर्यालसहित पक्राउ परेका कर्मचारीहरूमाथि अनुसन्धान गरेर सीआईबीले आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

मंगलबार अर्यालसहित लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दिप श्रेष्ठविरूद्ध मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामध्ये विजय यसअघि नै जिल्ला कारागार झापामा थुनामा छन् ।

यस प्रकरणमा यसअघि विभिन्न यातायात कार्यालहरूका कर्मचारीहरू पदमराज आचार्य, सुवास पौडेल, राजेश लम्साल, दिलिपकुमार साह र केशव पौडेल सिआइबीको हिरासतमा छन्।

यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स यातायात कार्यालयहरूका कर्मचारीहरू समेतको मिलेमतोमा नक्कली लाइसेन्नस बनाउने गरेको खुलेको भन्दै अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो । विभागले समिति बनाएर अध्ययन गर्दा २०७२ मंसिरयता जारी भएका १ लाख २ हजार ७११ वटा लाइसेन्स शंकास्पद भेटिएका छन् ।