शीर्षकहरू

मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दर्ता गर्न विशेष अदालतमा अख्तियारको टोली

मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दर्ता गर्न विशेष अदालतमा अख्तियारको टोली

काठमाडौं । अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालविरुद्ध मुद्दा दर्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली विशेष अदालत पुगेको छ ।

अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र अहिले रुजु गर्ने क्रम चलिरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। अन्तःशुल्क स्टिकर छपाइमा अर्यालसहित अन्य कर्मचारीहरुले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गर्न लागेको हो ।

सञ्चार मन्त्रालयले २०७९ असोज ४ गते आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । त्यसको दुई महिनापछि मंसिर २६ गते ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर प्रतिथान ८९ पैसाका दरमा छाप्ने गरी प्रिन्टसेल प्रालिले उक्त ठेक्का पाएको थियो ।  त्यसबेला सञ्चार सचिव थिए अर्याल ।

त्यसबेला सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेका विकल पौडेल यसअघि नै दोषी ठहर भइसकेका छन् । उनलाई विशेष अदालतले  वर्ष कैद र २५ करोड जरिवाना सजाय निर्धारण गरेको छ ।

२०८० वैशाखमा अख्तियारले विकलसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा गत जेठ ८ गते विशेष अदालतले विकलसहित नविनकुमार पौडेल, रोहितमान प्रधान र भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।

अदालतले उक्त भ्रष्टाचार मुद्दामा मुछिएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय र मित्रलाल पुरीलाई भने सफाइ दिएको थियो ।

अख्तियारले मुद्दा चलाउने तयारी गरेपछि मुख्यमन्त्री अर्याल आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा मुद्दा चलेपछि स्वत: निलम्बन हुने भएकाले मुद्दा चल्नुअघि नै राजीनामा दिन प्रधानमन्त्रीले सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ ।