काठमाडौं । अर्थमन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले निर्माण व्यवसायीको भुक्तानीमा समस्या नै नभएको दाबी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र बैंक तथा वित्तीय संस्था सञ्चालक महासंघ (सिविफिन) ले काठमाडौंमा आयोजनाको गरेको बहस कार्यक्रममा उनले सहुलियतपूर्ण कर्जा र बीमाको रकम राज्यको दायित्व भएकाले निकाशा हुने बताए भने निर्माण व्यवसायीको भुक्तानीमा भने समस्या नै नभएको दाबी गरे ।
'सहुलियतपूर्ण कर्जाको भुक्तानी सिर्जना भएको दायित्व हुनाले राज्यले निकाशा गर्छ। बीमाको हकमा पनि त्यही हो। निर्माण व्यवसायीको भुक्तानीमा समस्या नै छैन,' उनले भने ।
यस्तै उनले ऋण लिएर नतिरे पनि हुन्छ भन्ने कुरा हुनै नसक्ने भन्दै ऋण नतिर्नेविरुद्ध कठोर बनेर अगाडि बढ्ने बताए ।
'ऋण लिएर नतिरे पनि हुन्छ भन्ने कुरा हुनै सक्दैन,' उनले भने, 'अर्थ मन्त्रालय नियतवश ऋण नतिर्ने बिरुद्ध कठोर बनेर अगाडि बढ्छ। दोस्रो वित्तीय क्षेत्र सुधार रणनीतिलाई टुंगोमा पुर्याएर लागू गर्ने सोचमा अर्थमन्त्रालय छ ।'
राजस्वका लक्ष्य हासिल गर्न नसकेको स्वीकार्दै उनले भूकम्प र कोरोना महामारीपछि अहिले विस्तारै अर्थतन्त्रमा गतिशीलता देखिन थालेको बताए । बैंकहरुको खराब कर्जाका विषयमा वास्तवमा नै व्यावसायिक वातावरण नभएर खराब कर्जा बढेको हो अथवा कर्जाको दुरुपयोग भएर यस्तो भएको हो अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।
समयमै ऋणको किस्ता तिर्नु ठूलो नभइ बरु जुन शीर्षकमा लगानी भयो त्यो भयो कि भएन हेर्नुपर्ने उनले बताए ।