शीर्षकहरू

कृषिमा लगानी गर्न राज्यले बाध्य पार्‍यो, त्यहाँ नै खराब कर्जा बढी छ : केसी

कृषिमा लगानी गर्न राज्यले बाध्य पार्‍यो, त्यहाँ नै खराब कर्जा बढी छ : केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले ठीक ठाउँमा गरेको लगानी पनि समस्यामा परेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र बैंक तथा वित्तीय संस्था सञ्चालक महासंघ (सिविफिन) ले आयोजनाको गरेको दबाबयुक्त सम्पत्ति (स्ट्रेस एसेट) व्यवस्थापनसम्बन्धी प्यानल डिस्कसनमा उनले यस्तो बताएका हुन् । सरकारले कृषिमा लगानी गर्न बाध्य पारेको र त्यहाँ नै खराब कर्जा बढी रहेको भनाइ उनको थियो ।

दुईवटा एयरपोर्ट बन्दा त्यो देखेर होटलमा लगानी गरिएको बताउँदै उनले तर एयरपोर्ट नचल्दा लगानी समस्यामा परेको बताए । 'कृषिमा लगानी गर्न राज्यले बाध्य पार्‍यो, तर त्यहाँ नै खराब कर्जा बढी छ। दुईवटा एयरपोर्ट बन्दा त्यो देखेर होटलमा लगानी गरियो तर एयरपोर्ट नचल्दा त्यो लगानी समस्यामा पर्‍यो । हामीले ठीक ठाउँमा गरेको लगानी पनि सही साबित भएन,' उनले भने ।

निर्माण क्षेत्रमा ९/१० प्रतिशत खराब कर्जा रहेको उनले बताए । राजनीतिक विषयले बैंकिङ क्षेत्र समस्यामा परेको पनि उनको भनाइ थियो ।

यद्यपि, दक्षिण एसियाका अन्य मुलुकभन्दा नेपाल खराब अवस्थामा नरहेको दाबी गर्दै उनले आत्तिहाल्न पर्ने अवस्था नभएको बताए । 'आत्तिनु पर्ने अवस्था छैन, सजक चाहिं बन्नुपर्छ,' उनले भने । 

साना खालका घरजग्गा कारोबार र आयात पनि बढेको उनको भनाइ थियो। तर, यो आर्थिक वर्ष सकिँदा अहिलेको भन्दा खासै फरक भने नपर्ने उनले बताए ।