शीर्षकहरू

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

पर्सा । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले चोरी तस्करी गरेर भित्र्याइएको रु १० लाख मूल्य बराबरको सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । तस्करले भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो ।
 
पर्सा जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापा मर्दा सो मल बरामद भएको बताए । 

प्रहरीले मल भण्डारण कार्यमा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका वडा नं ९ का ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । बरामद मल भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । 

जङ्गली हात्तीको दारासहित तीन पक्राउ
पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । प्रहरीले पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१–२१ किलोग्राम तौल भएको दुईवटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार नै समातेको हो । 

प्रहरी नायब उपरीक्षक भारतीले जङ्गली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताए । “अधियुक्तहरूले ठोरी गाउँपालिका–४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१–२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्री वितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्” उनले भने ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसङ्ग लामा, वीरगञ्ज महानगरपालिका–१४ का प्रेम शर्मा र महानगर वडा नं २१ का अमिरीलाल महतो रहेका छन् ।