शीर्षकहरू

८२ अर्ब निक्षेप थपिदा पनि तीन बैंकलाई सकस, कुन वाणिज्य बैंकमा कति निक्षेप ?

८२ अर्ब निक्षेप थपिदा पनि तीन बैंकलाई सकस, कुन वाणिज्य बैंकमा कति निक्षेप ?

काठमाडौं । बढ्दो रेमिट्यान्स लगायतका कारण अहिले नेपाली बैंकिङ क्षेत्रमा निक्षेप बढ्दै गएको छ । यद्यपि, आर्थिक शिथिलताका कारण बजारबाट कर्जाको माग भने आवश्ताअनुरुपम हुन सकेको छैन । तर, बढ्दो रेमिट्यान्स, बचतकर्ताको उच्च व्याज आम्दानी लगायतका कारण बैंकहरुमा निक्षेप बढ्दै गएको छ । 

चालु आर्थिक बर्ष २०८०/८१ को ११ महिनामा बाणिज्य बैंकमा मात्रै ४ खर्ब ५२ अर्ब ४३ करोड रुपियाँ निक्षेप थपिएको छ ।  हाल नेपालमा २० बाणिज्य बैंक छन् । गत आवको अन्त्यसम्म उक्त २० बाणिज्य बैंकमा ५० खर्ब ८५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप थियो । जेठ मसान्तसम्म आउँदा त्यो बढेर ५५ खर्ब ३८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

जेठ महिनामा मात्रै बाणिज्य बैंकमा ७० अर्ब रुपैयाँ निक्षेप बढेको छ । तर, बैंकिङ क्षेत्रमा उच्च मात्रामा निक्षेप आउँदा पनि यो ११ महिनामा तीन बैंकले भने भएकै निक्षेप बचाउन नसकेको देखिएको छ । अर्थात्, यो ११ महिनामा ३ वटा बैंकमा निक्षेप घटेको छ । त्यसमा माछापुच्छ्रे, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

नेपाल बैंकर्स संघले तयार गरेको जेठ मसान्तसम्मको निक्षेप–कर्जा सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । यो ११ महिनामा प्रभु बैंकको निक्षेप ११ अर्ब ८५ करोड रुपियाँले घटेको छ । गत आवको अन्त्यसम्म उक्त बैंकमा दुई खर्ब ९५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप थियो । जेठ मसान्तसम्म आउँदा त्यो २ खर्ब ८४ अर्ब ९ करोडमा सिमित भएको छ ।  तर, जेठ महिनामा भने प्रभु बैंकको निक्षेप ४ अर्ब २४ करोड रुपैयाँले बढेको संघको तथ्यांकमा उल्लेख छ । 

माछापुच्छ्रे बैंकको निक्षेप पनि ८ अर्ब ६० करोड रुपैयाँले घटेको छ । संघको तथ्यांकअनुसार गत आवको अन्त्यसम्म माछापुच्छ्रे«मा १ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ निक्षेप थियो । तर, चालु आवको जेठ महिनासम्म आउँदा उक्त बैंकको निक्षेप १ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँमा सिमित भएको छ । जेठमा मात्रै यसको निक्षेप २ अर्ब ५१ करोड रुपैयाँले घटेको छ । 

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप पनि ७ अर्ब ४१ करोड रुपैयाँले घटेको छ । यद्यपि, जेठमा भने यो बैंकको निक्षेप ८४ करोड रुपैयाँले बढेको छ । गत आवको अन्तिमसम्म यस बैंकमा १ खर्ब २२ अर्ब ४९ करोड रुपैयाँ निक्षेप थियो । गत जेठ मसान्तसम्म आउँदा त्यो १ खर्ब १५ अर्ब ८ करोड रुपैयाँमा सिमित भएको छ ।

वाणिज्य बैंकले मात्रै थप्यो झण्डै ८२ अर्ब निक्षेप

चालु आवको ११ महिनामा राष्ट्रिय बाणिज्य बैंक एक्लैले झण्डै ८२ अर्ब रुपैयाँ निक्षेप थप गरेको छ । गत आवको अन्त्यसम्म राष्ट्रिय बाणिज्य बैंकमा ३ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप थियो । यो ११ महिनामा त्यो ८१ अर्ब ६५ करोड रुपैयाँले बढेर ४ खर्ब ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । जेठमा मात्रै यो बैंकले १६ अर्ब ५६ करोड रुपैयाँ निक्षेप थप गरेको छ । अन्य बैंकको तुलनामा राष्ट्रिय बाणिज्य बैंकले लोभलाग्दो रुपमा निक्षेप थपेको छ ।  

निक्षेप बढाउने बिषयमा ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा देखिएको छ । समिक्षा अवधीमा उक्त बैंकले ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप थप गरेको छ । जेठ महिनामा मात्रै ग्लोबलले १६ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप थप गरेको छ । गत आवको अन्तिमसम्म ग्लोबलमा ४ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँ निक्षेप थियो । 

जेठ मसान्तसम्म आउँदा त्यो बढेर ४ खर्ब ९३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । सबै भन्दा धेरै निक्षेप जम्मा गर्नेमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा छ । तेस्रो स्थानमा रहेको नविल बैंकले भने ५२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप थपेको छ । गत आवको अन्त्यसम्म नविल बैंकमा ४ खर्ब २ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थियो । गत जेठ मसान्तसम्म आउँदा त्यो ४ खर्ब ५५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । जेठमा भने नविलको निक्षेप १ अर्ब १८ करोड रुपैयाँ मात्रै थपिएको छ ।