काठमाडौं । अन्तरवार्तामा तीन जना अनुपस्थित भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनौटका लागि भोली (बुधबार) फेरि बोलाइएको छ । आवेदन दिएका सर्टलिस्टमा परेका पाँच जनामध्ये दुई जना मात्रै अन्तरवार्ताका दिन उपस्थित भएका थिए । तर, तीन जना भने अन्तरवार्ताका लागि गएनन् । उनीहरूलाई फेरि एक पटक मौका दिने भन्दै छनौट समितिले अन्तरवार्ताका लागि बुधबार बोलाएको हो ।
आइतबारको अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै सहभागी भएका थिए । अन्य तीन जना डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की भने अन्तरवार्ताका लागि गएनन् ।
समाचार स्रोतका अनुसार बुधबार पनि अन्तरवार्ताका लागि उनीहरू तीन जना उपस्थित नहुने योजनामा छन् । सेबोनको अध्यक्षमा आफूले चाहेको व्यक्ति छनौट गर्न नसक्ने अवस्था बन्दै गएपछि यसको सिफारिस प्रक्रियालाई नै रोक्दै आएका अर्थमन्त्री वर्षमान पुन ठूलो दबाब पछि प्रक्रिया अगाडी बढाउन सहमत भए पनि भित्रिरुपमा भने यो प्रक्रियालाई टुंगोमा नपुर्याउने योजनामा लागेको स्रोतको भनाइ छ ।
सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयम् नै अग्रसर बनेर सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षमा नियुक्त दिनुपर्ने अडान लिएपछि जटिलता सिर्जना भएको बताइन्छ । ओलीका कुरा टार्न पनि नसकिने र मान्न पनि गाह्रो पर्ने अवस्था सिर्जना भएपछि अर्थमन्त्री पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादीसँग निकट सम्बन्ध रहेको मानिएका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ कृष्ण बहादुर कार्की, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अर्थमन्त्रीलाई सहयोग पुग्नेगरि अन्तरवार्तामा उपस्थित नभएको स्रोतले बतायो ।
त्यसो त माओवादी निकट भनेर चिनिएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले पनि दुई जनाको मात्रै उपस्थितिलाई सदर गर्दै मन्त्रीपरिषद्मा नाम सिफारिस गर्ने सम्भावना छैन । यसरी सेबोनले तुरुन्तै अध्यक्ष पाउने सम्भावनालाई दलीय निकटता र त्यसको भित्रिरुपमा रहेको कर्पोरेट प्रतिद्धन्द्धताले अझै केही समय पछि धकेलिने देखिएको छ ।