शीर्षकहरू

राजेन्द्र लिङ्देनले संसद्मा नै च्याते बजेट

राजेन्द्र लिङ्देनले संसद्मा नै च्याते बजेट

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सरकार प्रति रोष प्रकट गर्दै संसद्मा बजेट नै च्यातेका छन् । उनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।

 ‘म कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। कहिलेकाहीँ रिस पनि उठ्छ तर एक छिनपछि सेलाउने र मन बुझाउने खालको मान्छेको रूपमा आफूलाई ठान्छु,’ उनले बजेट च्यात्नु अघि भनेका थिए। यसो भन्दै बजेटमाथिको छलफलमा सहभागिता जनाउन रोस्टममा पुगेका राप्रपा लिङ्देनले भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन्।

बजेटको प्रति च्यात्दै उनले अगाडी भने, ‘जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्‍यो। त्यो दिनदेखि म यसरी तातिएको छु कि यो यसरी च्यातेर यसरी हुर्याउने मन छ, तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ राख्छु।’

लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेर रोस्टमको पोडियममा राखे। उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरिएको आरोप लगाएका छन्। 

उनले आफ्नो जस्तो धारणा सबैको रहेको जिकिर गर्दै ४ निर्वाचन क्षेत्र बाहेक सबैको मनको कुरा रहेको बताए । सामान्य लाज समेत नमानी काम बजेटमा पक्षपाती काम गरेको उनले बताए ।

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै लिङ्देनले भने, ‘कसैको निर्वाचन क्षेत्रमा तपाईँको मन्त्रालयबाट एउटा पनि योजना नपर्ने, तर एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो? कुन विधि र तरिकाले हो? त्यो कुरा त भन्नुपर्‍यो, थाहा दिनुपर्‍यो नि! तपाईँले यो बजेट बनाउनुसँगै विधि पनि भत्काउनु भएको छ।’