काठमाडौँ । कुनै जमाना थियो, काठमाडौँका अलिक चलेका र व्यावसायिक रुपमा चर्चित स्थानहरूमा कोठा, फ्ल्याट, सटर पाउन धौधौ हुन्थ्यो। चाबहिल, अनामनगर, पुतलीसडक, बागबजार, नयाँ बानेश्वर, असन, मंगलबजार, न्यू–रोड, दरबारमार्ग लगायतका काठमाडौँ उपत्यकाका थुप्रै व्यापारिक तथा व्यवसायीक क्षेत्रमा बस्ने र व्यापार व्यवसाय गर्ने अवसर पाउने कुरा निकै ठूलो थियो ।
त्यसको फाइदा उठाउँदै घरधनीहरूले कोठा, फ्ल्याट, सटरको भाडादर मनलाग्दी रुपमा तोक्दै आएका थिए । साथै, बर्षेनी उच्च दरमा भाडा बढाउने पनि गर्दथे ।
भाडामा बस्ने व्यक्ति तथा संस्थाले भाडा मात्रै तिरेर पनि पुग्दैनथ्यो । सुरुमै लाखौँ रुपियाँसम्म ‘सलामी’ समेत तिर्नु पर्दथ्यो । जुन रकम फिर्ता आउँदैन। कोठा, फ्ल्याट, सटर खोजिदिने एजेन्टलाई हजारौं रुपैयाँ कमिसन दिनु पर्थ्यो।
तर, विगत दुई वर्षदेखि देखिएको आर्थिक शिथिलताले त्यो अवस्थाको अन्त्य गरिदिएको छ । चाबहिल, पुतली सडक, बागबजार, नयाँ बानेश्वर, असन, मंगलबजार, न्यू–रोड, दरबारमार्ग लगायतका व्यापारिक तथा व्यवसायीक क्षेत्रमा ‘टु-लेट’ लेखिएका पोष्टर महिनौं देखी घर, कोठाका भित्तामा टाँसिएको देख्न सकिन्छ ।
कोठा तथा फल्याटहरु भाडामा नलागेपछि विभिन्न प्रकृतिका व्यापार गर्न दिने भन्दै थुप्रै सटरहरू पनि भाडामा उपलब्ध रहेको सूचना अर्थात् ‘टु–लेट’को सूचना मार्फत घर मालिकले डेरावाल खोजिरहेका छन् । तरपनि ती स्थानका कोठा भाडामा जान सकेको छैन ।
पछिल्लो समय देखिएको आर्थिक शिथिलताले आम उपभोक्ताको क्रय शक्ति घटेको छ । मुद्रास्फीति (मूल्यवृद्धि दर) न्यून हुँदा पनि बजारमा माग बढ्न सकेको छैन । कतिपय व्यवसायीहरू व्यापार व्यवसाय नै बन्द गरेर अन्यन्त्रै पलायन भएका छन् । फलतः उनीहरूले प्रयोग गरेको सटर लगायतका ठाउँहरू खाली भएका हुन् ।
आर्थिक शिथिलताका कायमै रहेको कारण नयाँ व्यवसायी पनि आउन सकेका छैनन् । ठुला ठुला व्यापारिक मलका सटरहरू समेत भाडामा लागेका छैनन्।
यद्यपि, अनलाइन मार्फत हुने व्यापार बढेको कारण पनि यस्तो अवस्था आएको बताइन्छ । पछिल्लो समय अनलाइन सपिङको संस्कृति व्यापक रुपमा विकास भएको छ । अधिकांश बस्तु तथा सेवा अनलाइनबाटै खरिद बिक्री गर्न सकिन्छ ।
यस्तो अवस्थामा व्यापारीहरू महँगो भाडा तिरेर सडक छेउकै सटर लिएर व्यापार गर्नु भन्दा कुनै भित्री ठाउँमा स्टोररुम (गोदाम) राखेर अनलाइनबाटै व्यापार गर्न थालेका छन् । त्यसले पनि व्यापारिक सटरहरूको माग घटेको विज्ञहरू बताउँछन् । तर, अहिलेको मुख्य कारण चाहिँ पछिल्लो समय देखिएको आर्थिक शिथिलता नै भएको उनीहरूको भनाइ छ ।
यस्तै, काठमाडौ लगायतका सहरहरूमा कोठा र फ्ल्याट भाडामा लिएर बस्नेमा विद्यार्थीहरूको हिस्सा बढी भएको बताइन्छ । तर, पछिल्लो समय विद्यार्थीसहित युवा उमेर समुहका व्यक्तिहरू अध्ययन र रोजगारको नाममा विदेश पलायन भइरहेका छन् । उनीहरू बिदेसिएका कारण पनि भाडामा कोठा र फ्ल्याटको माग न्यून छ ।
यस्तै, पछिल्लो समय देखिएको आर्थिक शिथिलतालाई दृष्टिगत गर्दै आम उपभोक्ताले खर्च कटौती गर्दै गएका छन् । पहिला फ्ल्याटमा बस्नेहरू अहिले कोठामा बस्न थालेको देख्न सकिन्छ । त्यसको असरले पनि पछिल्लो समय फ्ल्याट तथा कोठाहरू भाडामा लाग्न नसकेको घरधनीहरू बताउँछन् ।
आवासीय कोठा तथा फल्याटहरु केही ढिलो भएपनि भाडामा लागिरहेका छन् । तर, व्यवसायीक सटर तथा फल्याटहरु भाडामा लगाउन नसकेको घरधनीहरू बताउँछन् । पहिलाको भन्दा घटाएर भाडादर तोक्दा पनि भाडामा लगाउन नसकिएको उनीहरू बताउँछन् । पहिला सलामी लिएर दिने गरेको सटरहरू अहिले भाडा घटाउँदा पनि भाडामा लगाउन नसकेको उनीहरूको भनाई छ।
नेपाल राष्ट्र बैंकको एक तथ्यांकले पनि भाडाको मूल्यवृद्धि दर घटेको देखाएको छ । २०८१ वैशाख महिनामा भाडाको मूल्यवृद्धि दर १.७३ प्रतिशत मात्रै रहेको छ । २०८० वैशाखमा यस्तो भाडाको मूल्यवृद्धि दर ९.६५ प्रतिशत थियो । गएका वर्षहरूमा यो उच्च दरमा बढ्ने गर्दथ्यो । तर, यसपालि सटर, कोठा, फ्ल्याटको माग नभएपछि मूल्यवृद्धि दर खस्किएको बताइएको छ ।
त्यसैगरी भाडामा बसिरहेकाहरूसँग पनि घरबेटीहरूले उच्च दरमा भाडा बढाउन सकेका छैनन् । किनकि, त्यसो गर्दा उनीहरू अन्यत्र जाने जोखिम हुन्छ । कतिपय ठाउँमा घरधनी र भाडावालाको समझदारीमा भाडादर नै घटाउने गरेको पनि देखिन्छ । व्यापार व्यवसाय नभएपछि घरधनीहरू पनि भाडा घटाउन सकारात्मक भएका छन् । यहि कारण भाडाको मूल्यवृद्धि दर घटेको विज्ञहरू बताउँछ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले पनि पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण भाडाको मुल्यबृद्धिदर खस्किएको बताए ।
राष्ट्र बैंकले ४९६ प्रकारका बस्तु तथा सेवाको आधारमा मासिक रुपमा मुद्रास्फीति अर्थात् मुल्यबृद्धिदर गणना गर्छ । त्यसमा घर भाडाको सबैभन्दा बढी अर्थात् २०.३० प्रतिशत भारित हिस्सा छ । अध्ययनमा आम उपभोक्ताको खर्च घरभाडामा बढी हुने देखिएपछि यसको हिस्सा धेरै राखिएको हो ।
वैशाख महिनामा समग्र मूल्यवृद्धि दर भने ४.४० प्रतिशत छ । गत वर्ष वैशाखमा यस्तो मूल्यवृद्धि दर ७.४१ प्रतिशत थियो । बजारमा बस्तुको माग बढ्न नसकेपछि औसत मुल्यबृद्धिदर खस्कीदैं गएको छ ।
अहिले भाडादर कम हुँदा व्यवसायको लागत घट्ने सम्भावना छ । फलस्वरूप, व्यवसाय गर्ने वातावरण छ। अर्थतन्त्र चलायमान भएपछि पुनः व्यवसाय गर्ने वातावरण हुन्छ । तर, त्यो बेला भाडाको मूल्यवृद्धि दर पनि बढ्न सक्ने सम्भावना उच्च छ । दीर्घकालीन रूपमै भाडा सस्तो बनाउन सरकारले नै कोठा, फ्ल्याट, व्यवसायीक भवनहरूको आपूर्ति बढाउनुपर्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।