शीर्षकहरू

जेठमा पुँजी बजारबाट ७० करोडभन्दा बढी पुँजीगत लाभकर संकलन

जेठमा पुँजी बजारबाट ७० करोडभन्दा बढी पुँजीगत लाभकर संकलन

काठमाडौं । जेठ महिनामा मात्र सरकारले ७० करोड ४२ लाख ५२ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ । सरकारले नाफामा कारोबार गरेका पुँजी बजारका लगानीकर्ताबाट उक्त पुँजीगत लाभकर संकलन गरेको हो । 

पुँजी बजारको कारोबार राफसाफकर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जेठमा वैशाखको तुलनामा पुँजीगत लाभकर बढेको बताएको छ । सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले वैशाखमा ३६ करोड २७ लाख ४२ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएकोमा जेठमा ३४ करोड १५ लाख ९ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको जानकारी दिएका हुन । 

उनका अनुसार जेठ महिनामा अल्पकालीन लगानीकर्ताबाट सबैभन्दा बढी ३८ करोड ५५ लाख ९८ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर जेठमा संकलन भएको छ । त्यस्तै दीर्घकालीन लगानीकर्ताबाट २३ करोड ३७ लाख ४८ हजार रुपैयाँभन्दा बढी र संस्थागत लगानीकर्ताबाट ८ करोड ४९ लाख ४ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको जानकारी सूचना अधिकारी न्यौपानेले दिएका छन् ।

नेपालमा पुँजी बजारको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा कर लाग्ने व्यवस्था २०५८ साल साउन १ गतेदेखि लागू भएको पाइन्छ । आयकर ऐन– २०५८ को दफा ८९ (क) अनुसार सूचिकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ श्रावण १ गते अघि खरिद गर्ने खरिदकर्ताहरुले उक्त मितिको अन्तिम मूल्यलाई खरिद मूल्य मानेर आफ्नो

लगानी बिक्रीबाट प्राप्त लाभमा अग्रिम पुँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो । हाल नेपाल सरकार अर्थ मन्त्रालयसँग आम लगानीकर्ताहरूले पुँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भैसकेको छ । हालको व्यवस्थामा लगानीकर्ताहरूले भारित औसत लागतका आधारमा पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । 

हालको व्यवस्था अनुसार धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरूले नाफा कमाएको खण्डमा अधिकतम १० प्रतिशतसम्म पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ भने व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ ।

एक वर्षभन्दा बढी धितोपत्र कायम गर्ने लगानीकर्ताहरूलाई दीर्घकालीन र एक वर्षभन्दा कम धितोपत्र कायम गर्ने लगानीकर्ताहरूलाई अल्पकालीन लगानीकर्ताको रूपमा विभाजन गर्दै सरकारले अल्पकालिन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दिर्घकालिनका लागि ५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरेको हो ।