काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउँदै आइतवार सर्टलिष्टमा परेका पाँचजनालाई कार्ययोजना प्रस्तुतीकरण तअन्तरवार्ताका लागि बोलाइएको छ । अर्थमन्त्रालयले सूचना जारी गर्दै आइतवार सर्टलिष्टमा परेका उम्मेद्वारहरूको अन्तरवार्ता विहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभाहलमा सुरु हुने जानकारी दिएको हो । गत चैत २५ गते अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिष्ट गर्ने काम सम्पन्न भैसकेको अवस्थामा प्रक्रिया स्थगित गरिएको थियो ।
दुई महिनापछि प्रक्रिया अघि बढाएर आगामी सोमवारभित्र बोर्ड अध्यक्ष नियुक्त गर्ने तयारीमा सरकार जुटेको हो । बोर्ड अध्यक्ष नियुक्तीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालयका अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला समेत रहेको तीन सदस्यीय सिफारिस समिति गत माघ ३ गते गठन भएको थियो ।
गत फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन संकलन गरेको सिफारिस समितिले तोकिएको अवधिभित्र आवेदन दिएका १९ आवेदकमध्ये ५ जनाको नाम सर्टलिष्ट गरेको छ । बोर्ड अध्यक्षका लागि छनौटमा परेका पाँचजनामा बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाई र सन्तोष श्रेष्ठ रहेका छन् ।
कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ताको आधारमा सिफारिस समितिले पाँच जनामध्येबाट तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्नेछ । तीन जनामध्येबाट १ जना सोमवारको मन्त्रिपरिषदको बैठकबाट अध्यक्षका लागि नियुक्त हुने सम्भावना बलियो रहेको अर्थमन्त्रालयको भनाई छ । बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन परेको थियो । सर्टलिष्टमा परेको आवेदकहरू बाहेक कृष्ण राज पोखरेल, डा. गोपाल प्रसाद भट्ट, निरज गिरी, डा. केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी , डा. रघुराज काफ्ले, प्रबिण पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव , सिताराम थपलिया, डा. बिमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल र मुक्ति अर्यालले बोर्ड अध्यक्षका लागि आवेदन दिएका थिए ।
बोर्ड अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन , २०६३ को दफा ५ मा रहेको व्यवस्था बमोजिम तयार गरेको कार्यविधिमा उम्मेदवारको मूल्याङ्कन सम्बन्धी अंक भार चार शिर्षकमा विभाजन गरेको छ । व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनको प्रस्तुतीकरणमा १८ अंक र अन्तरवार्तामा ३० अंक गरी १०० अंकको मूल्याङकन सम्बन्धी अंक भार कायम गरिएको छ । पाँच प्रतिस्पर्धीबाट मूल्याङ्कनका आधारमा तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । तीन जनाबाट एक जनालाई मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।