काठमाडौं । टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्थित आर्नोस भाले रङ्गशालामा दक्षिण अफ्रिकाका अग्ला खेलाडीहरुका माझ मध्यम उचाइका नेपाली खेलाडीको लहर एकै स्थानमा उभिएर राष्ट्रिय गान गाएपछि सुरु भएको थियो नयाँ टेस्ट प्रतिद्वन्द्वीसँग नेपालको प्रतिस्पर्धा।
नेपालले सुरुमा कसिकसाउ बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो। जवाफमा २० ओभरमा नेपालले ११४ रन बनायो। अन्तिम दुई बलमा रन जोड्न नसक्दा ऐतिहासिक विजयको नजिक भएर पनि नेपाल पराजित भएको थियो।
अंक तालिका कस्तो छ ?
बलिया टोलीहरू रहेकाले नेपाल रहेको समूह डीुलाई ग्रूप अफ डेथ’ मानिएको छ। समूह चरणमा हालसम्म खेलेका तीन खेल जितेर शीर्षस्थानमा रहँदै दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेको छ।
तीनमध्ये दुई खेल जितेको बाङ्ग्लादेशले चार अङ्क जोड्दै आफूलाई बलियो स्थानमा उभ्याएको छ। अब बाङ्ग्लादेशले नेपालसँग खेल्न बाँकी छ। जम्मा एक खेल जितेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छ। उसले श्रीलङ्कासँग खेल्न बाँकी छ। नेदरल्यान्ड्ससँग पराजित नेपालले वर्षाका कारण श्रीलङ्कासँग एक अङ्क बाँडेको थियो। कुनै पनि खेल नजितेको श्रीलङ्का रनरेटको आधारमा नेपालभन्दा तल छ।