शीर्षकहरू

टेलिकमको मोबाइल र एफटीटीएचमा आकर्षक प्याकेज सार्वजनिक

टेलिकमको मोबाइल र एफटीटीएचमा आकर्षक प्याकेज सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु २०८१ असार १ देखि लागु हुने छन् ।

अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।

यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ । 

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने  २७० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ । त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । 

प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आइपीटीभी तथा प्रिमियम आइपीटीभीका प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आइपीटीभी तथा प्रिमियम आइपीटीभी प्याकेजहरु र एक्सजीपीपीओएन प्याकेजहरुमा डाटा मात्र, बेसिक आइपीटीभी तथा प्रिमियम आइपीटीभीका प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुनेछन् । ग्राहकले आफ्नो मोबाइलबाट *1415#  डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।