कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा कम्तिमा ४२ जनाको मृत्यु भएको छ ।
आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी भएको हो । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो ।
कामदारहरूका रोजगारदाताले गृह मन्त्रालयको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल ईद अल–ओवाइहानलाई दिएको जानकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले छ तले उक्त भवनको बाहिरी भागमा कालो लागेको देखिएको छ । भवनमा एक सय ९६ कर्मचारी बस्दथे ।
तेलको धनी मुलुक कुवेतमा ठूलो सङ्ख्यामा विदेशी कामदार छन् । यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन् । मृत्यु हुनेमा अधिकांश भारतीय रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिन्दुस्तान टाइम्सले ४० भारतीय उक्त दुर्घटनामा मारिएको लेखेको छ ।
जनरल फायर डिपार्टमेन्टको एक स्रोतका अनुसार भुइँ तलामा आगो लागेपछि निस्केको धुवाँले पीडितहरू निस्सासिएका थिए । “फोरेन्सिक टोलीले घटनास्थलमा काम गरिरहेका छन् र अहिलेसम्म तीन शवको सनाखत भएको छ”, ओवाइहानले भने ।
पीडितहरूको राष्ट्रियता घोषणा भने गरिएको छैन । एएफपीले सम्पर्क गर्दा भारतीय राजदूत अस्पतालमा जीवितहरूसँग भेट्न गएको बताएको छ । भारतका विदेशमन्त्री एस जयशङ्करले सामाजिक सञ्जाल एक्समा समाचारबाट गहिरो स्तब्ध भएको बताएका छन् । साथै उनले दुःखदरूपमा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
गृहमन्त्री शेख फहद अल–युसेफले घटनास्थलस्थलमा पुगेर सम्भावित लापरवाहीको जाँचका लागि भवनका मालिकलाई पक्राउ गरिएको बताएका छन् । उनले सुरक्षा नियमहरूको उल्लङ्घन गर्ने कुनै पनि सम्पत्तिलाई तुरुन्त खाली गरिने चेतावनी दिए ।
“हामी कामदारहरूको भीडभाड र उपेक्षाको समस्यालाई सम्बोधन गर्न काम गर्नेछौँ, आगलागी भएको सम्पत्तिका मालिकलाई कानूनी प्रक्रिया पूरा नभएसम्म हिरासतमा राख्नेछौँ”, उनले भने ।
इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो ।
आफ्ना पतिले अर्को विवाह गरेको भन्दै बदला लिन सन् २००९ मा एक कुवेती महिलाले विवाह भोजमा पालमा आगजनी गर्दा ५७ जनाको मृत्यु भएको थियो । मानिसहरू भित्र खुशीयाली मनाइरहँदा नुसरा अल–एनेजीले पालमा पेट्रोल फ्याँकेर आगो लगाएकी थिइन् । उक्त अपराधका लागि सन् २०१७ मा उनलाई मृत्युदण्ड दिइएको थियो । उक्त घटनाका पीडितहरूमा धेरै महिला र बालबालिका थिए ।