शीर्षकहरू

डिजिटल भुक्तानी वृद्धिदरमा नेपाल दक्षिण एसियामै पहिलो

डिजिटल भुक्तानी वृद्धिदरमा नेपाल दक्षिण एसियामै पहिलो

काठमाडौं । नेपालको डिजिटल पेमेन्ट अर्थात् विद्युतीय भुक्तानीको वृद्धिदर दक्षिण एसियाकै सबैभन्दा उच्च देखिएको छ । ‘साउद एसिया रिजन फाइनान्सीयल इन्क्लुजन इनीसिएटीभ’ ले हालै सार्वजनिक गरेको ‘दक्षिण एसियामा भुक्तानी आविष्कार र जोखिम’ विषयक एक प्रतिवेदनले यस्तो देखाएको हो ।

उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष सन् २०२१/२२ मा नेपालमा डिजिटल भुक्तानी ५५.६५ प्रतिशतले बढेको छ । यस्तो वृद्धिदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा सबैभन्दा उच्च हो ।

आव २०२०/२१ मा नेपालमा २५ अर्ब ७१ करोड डलर बराबरको डिजिटल भुक्तानी भएको थियो । आव २०२१–२२ मा भने त्यो १४ अर्ब ३१ डलरले बढेर ४० अर्ब दुई करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

बिशेषगरि नेपालमा कोरोना कालपछि डिजिटल भुक्तानी व्यापक रुपमा विस्तार भएको देखिन्छ । कोरोना काल अघि नै नेपालमा डिजिटल भुक्तानीको उपकरणहरू विकास भइसकेको थियो । तर, त्यसको प्रयोग र विस्तार व्यापक मात्रामा हुन सकेको थिएन ।

तर, कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न लगाइएको लकडाउनपछि नेपालमा डिजिटल भुक्तानी विस्तार भएको हो। नगदमा आधारित कारोबार गर्दा कोरोना भाइरस सर्ने डर भएपछि आम मानिसले डिजिटल भुक्तानी गर्न थालेका थिए । उक्त प्रतिवेदनमा उल्लेखित तथ्यांक पनि कोरोना कालकै हो । कोरोनाले अर्थतन्त्रलाई नमज्जाले प्रभावित बनाए पनि डिजिटल भुक्तानीको विकास गर्न ठुलो सहयोग पुर्‍याएको नेपाल राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

कोरोना काल नआए पनि नेपालमा डिजिटल भुक्तानीको विस्तार ढिलो चाँडो त  हुने नै थियो । तर, कोरोना कालले गर्दा यसको विस्तार छिटो गर्न सहयोग पुगेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

डिजिटल भुक्तानी बढाउने मामिलामा दोस्रो नम्बरमा पाकिस्तान रहेको छ । समीक्षा अवधिमा पाकिस्तानमा डिजिटल भुक्तानी ५४.३२ प्रतिशतले बढेको देखिएको छ ।

आव सन् २०२०/२१ मा पाकिस्तानमा १८ खर्ब ७४ करोड डलरको डिजिटल कारोबार भएको थियो । आव २०२१/२२ मा त्यो २८ खर्ब ९२ अर्ब डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

तेस्रो स्थानमा भने श्रीलङ्का रहेको छ । समीक्षा अवधिमा श्रीलङ्कामा डिजिटल भुक्तानी ५३.३९ प्रतिशतले बढेको छ । आव २०२०/२१ मा श्रीलङ्कामा ६२ अर्ब ४२ करोड डलरको डिजिटल भुक्तानी भएको थियो । आव २०२१/२२ मा त्यो ९५ अर्ब ७५ करोड डलर पुगेको छ ।

यसैगरी आव २०२१/२२ मा माल्दीभ्समा डिजिटल भुक्तानी  ४८.२३ प्रतिशतले बढेको छ । २०२०/२१ मा त्यहाँ १५ अर्ब २८ करोड डलर बराबरको डिजिटल कारोबार भएको थियो । आव २०२१/२२ मा त्यहाँ २२ अर्ब ६५ करोड डलरको डिजिटल भुक्तानी भएको छ ।

यसै गरी बंगलादेशमा ३६.८८ प्रतिशतले डिजिटल भुक्तानी बढेको छ । त्यहाँ आव २०२०/२१ मा ५ खर्ब १९ अर्ब डलरको डिजिटल भुक्तानी भएको थियो । २०२१/२२ मा भने त्यहाँ सात खर्ब १० अर्ब ९५ करोड डलरको डिजिटल भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।

उता भुटानमा पनि २४.३६ प्रतिशतले डिजिटल भुक्तानी बढेको देखिन्छ । आव २०२०/२१ मा त्यहाँ ५ अर्ब ९२ करोड डलरको डिजिटल भुक्तानी भएको थियो । २०२१/२२ मा भने त्यहाँ ७ अर्ब ३५ करोड डलरको डिजिटल भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाको सर्वाधिक ठूलो अर्थतन्त्र भारतमा डिजिटल भुक्तानी १९.६५ प्रतिशतले बढेको छ । त्यहाँ २०२०/२१ मा २०९ खर्ब ९८ अर्ब डलरको डिजिटल भुक्तानी भएको थियो । आव २०२१/२२ मा त्यो बढेर २५१ खर्ब २६ अर्ब डलर पुगेको छ । रकमका आधारमा भारतमा नै सबै भन्दा धेरै डिजिटल भुक्तानी हुने गर्छ ।

समीक्षा अवधिमा दक्षिण एसियाको समग्र डिजिटल भुक्तानी २२.९५ प्रतिशतले बढेको छ । आव २०२०/२१ मा दक्षिण एसियामा २३५ खर्ब ७१ करोड डलरको डिजिटल भुक्तानी भएको थियो । आव २०२१/२२ मा त्यो २८८ खर्ब ९४ अर्ब ७२ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

डिजिटल भुक्तानीको सङ्ख्या वृद्धिदरको आधारमा भने भारत अग्र स्थानमा देखिएको छ । आव २०२१/२२ मा भारतमा डिजिटल भुक्तानीको सङ्ख्या ५८.५२ प्रतिशतले बढेको छ ।

आव २०२०/२१ मा त्यहाँ ७१ अर्ब ८७ करोड ६० लाख वटा डिजिटल भुक्तानी भएको थियो । २०२१/२२ मा भने त्यहाँ १ खर्ब १३ अर्ब ९३ करोड ८० लाख वटा डिजिटल भुक्तानी भएको छ । ठुलो अर्थतन्त्र भएको मुलुकमा धेरै डिजिटल भुक्तानी हुनु स्वाभाविक नै मानिन्छ ।

यस्तो सङ्ख्याको वृद्धिदरको आधारमा नेपाल भने दोस्रो स्थानमा छ । आव २०२१/२२ मा डिजिटल भुक्तानीको सङ्ख्या ५०.०३ प्रतिशतले बढेको छ । आव २०२०/२१ मा नेपालमा ४२ करोड ९९ लाख वटा डिजिटल भुक्तानी भएको थियो । आव २०२१/२२ मा नेपालमा ६४ करोड ५१ लाख वटा यस्तो कारोबार भएको प्रतिवेदनमा उल्लेख छ ।

तेस्रो स्थानमा भने माल्दीभ्स रहेको छ । समीक्षा अवधिमा त्यहाँ डिजिटल भुक्तानीको सङ्ख्या ४०.३२ प्रतिशतले बढेको छ । २०२०/२१ मा माल्दीभ्समा ६ करोड १५ लाख वटा डिजिटल भुक्तानी भएको थियो । आव २०२१/२२ मा भने त्यो ८ करोड ६३ लाख पुगेको छ ।

यसै गरी भुटानमा डिजिटल भुक्तानीको सङ्ख्या ४०.१५ प्रतिशतले बढेको छ । आव २०२०/२१ मा त्यहाँ १६ करोड १२ लाख वटा डिजिटल भुक्तानी भएको थियो । आव २०२१/२२ मा भने त्यहाँ २२ करोड ६० लाख वटा डिजिटल भुक्तानी भएको छ ।

यस्तै, पाकिस्तानमा डिजिटल भुक्तानीको सङ्ख्या ३६.१२ प्रतिशतले बढेको छ । आव २०२०/२१ मा पाकिस्तानमा १ अर्ब १८ करोड ७३ लाख वटा डिजिटल भुक्तानी भएको थियो । २०२१/२२ मा त्यो १ अर्ब ६१ करोड ६२ लाख पुगेको छ ।

श्रीलङ्कामा भने डिजिटल भुक्तानी सङ्ख्या २९.११ प्रतिशतले बढेको छ । आव २०२०/२१ मा त्यहाँ ९१ करोड ९० लाख वटा डिजिटल भुक्तानी भएको थियो । आव २०२१/२२ मा त्यहाँ १ अर्ब १८ करोड ६५ लाख वटा डिजिटल भुक्तानी भएको छ ।

यसै गरी बंगलादेशमा डिजिटल भुक्तानीको सङ्ख्या १६.२४ प्रतिशतले बढेको छ । आव २०२०/२१ मा त्यहाँ ४ अर्ब ४ करोड ४५ लाख वटा डिजिटल कारोबार भएको थियो । आव २०२१/२२ मा त्यो ४ अर्ब ७० करोड १७ वटा पुगेको छ ।

समीक्षा अवधिमा दक्षिण एसियामा डिजिटल भुक्तानीको सङ्ख्या ५५.५६ प्रतिशतले बढेको छ । आव २०२०/२१ मा दक्षिण एसियामा ७८ अर्ब ६७ करोड ९६ वटा डिजिटल भुक्तानी भएको थियो । आव २०२१/२२ मा १ खर्ब २२ अर्ब ४० करोड वटा यस्तो कारोबार भएको प्रतिवेदनमा उल्लेख छ ।