एक वर्षभित्र अनलाइन कारोबारकम  १६ हजारभन्दा बढी लगानीकर्ता आबद्ध - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

एक वर्षभित्र अनलाइन कारोबारकम  १६ हजारभन्दा बढी लगानीकर्ता आबद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
Sunrise bank
एक वर्षभित्र अनलाइन कारोबारकम  १६ हजारभन्दा बढी लगानीकर्ता आबद्ध
LBEF
NCH-IPS

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) मा १६ हजार २३४ जना लगानीकर्ता आबद्ध भएका छन् । नेप्सेले नट्स सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । २०७५ साल कात्तिक २० गतेदेखि नेप्सेले अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको हो । 

नेप्सेले सार्वजनिक गरेको एक वर्षको प्रणालीको प्रगति सम्बन्धी विवरणमा  कुल कारोबार रकम १ खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजारमध्ये अनलाइनमार्फत १६ अर्ब ५४ करोड ८२ लाख ९ हजारको कारोबार भएको छ । प्रणाली लागू भएपश्चात १५ लाख २४ हजार १४ पटक भएको शेयर कारोबारमा अनलाइनमार्फत ३ लाख १३ हजार १९७ पटक कारोबार भएको छ । 

त्यस्तै ३७ करोड १२ लाख ५७ हजार ९८८ कित्ता शेयर खरिद बिक्री भएकोमा अनलाइन मार्फत ५ करोड ८७ लाख २१ हजार ६४९ कित्ता शेयर कारोबार भएको छ । एक वर्षको अवधिमा २४२ दिन शेयर कारोबार भएको छ । यस अवधिमा १ अर्बभन्दा बढी कारोबार जम्मा १२ दिन भएको नेप्सेले दिएको तथ्याङ्कमा उल्लेख छ । २ अर्बभन्दा बढीको कारोबार जम्मा १ दिन भएको छ ।

यसैगरी १० हजारभन्दा बढी कारोबार संख्या भएको २३ दिन, २० हजारभन्दा बढी कारोबार संख्या भएको १ दिन रहेको नेप्सेको भनाइ छ । एक वर्षको अवधिमा सबैभन्दा बढी कारोबार संख्या २९ हजार ४९६ रहेको छ । यस प्रणालीमा स्वदेश तथा विदेशबाट पनि नेपाली नागरिकले कारोबार गरिरहेको नेप्सेले जानकारी दिएको छ । अन्तर्राष्ट्रियस्तरसम्म पहुँच भएको यस प्रणालीमा सुरुका दिनमा केही समस्या देखिए पनि हाल कुनै समस्या नभएको नेप्सेले दाबी गरेको छ ।

शुरुमा नेप्सेको अनलाइन कारोबार प्रणाली सीडीएस एन्ड क्लियरिङ तथा चार क्लियरिङ बैंकको प्रणालीसँग मात्र एकीकृत थियो । हाल यस प्रणालीलाई नेपाल क्लियरिङ हाउस लिमिटेडको प्रणालीमा आबद्ध गराई यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन रकम हस्तान्तरण हुँदै आएको छ ।
अनलाईन कारोबार प्रणालीमा आवद्ध हुन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले निःशुल्क युजर नेम र पासवर्ड उपलब्ध गराउने हुँदा इच्छुक लगानीकर्तालाई प्रणालीमा आबद्ध हुन समेत नेप्सेले अनुरोध गरेको छ ।

दोस्रो बजारमा अनलाइन वा अफलाईन जुनसुकै माध्यमबाट कारोबार गर्दा खरिदकर्ताले खरिद रकमको २५ प्रतिशत रकम ब्रोकरलाई अग्रिम भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था रहेको नेप्सेले प्रष्ट पारेको छ । यसर्थ बजारमा चर्चा गरिएको अनलाइन कारोबार गर्दा मात्र खरिदकर्ताले २५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने कुरामा सत्यता नभएको नेप्सेले जानकारी गराएको छ । यस प्रणालीका बारेमा बजारमा फैलिएको हल्लाको पछाडि नलाग्न सम्पूर्ण लगानीकर्तालाई नेप्सेको आग्रह छ । 
 

प्रतिक्रिया दिनुहोस