काठमाडौं । गण्डकी प्रदेशकै हालसम्मको सबैभन्दा ठूलो सहकारी रकम अपचलन भएको पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देशीय सहकारीको निक्षेप अपचलन प्रकरणमा ६६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
आज सहकारी वकिलको कार्यालयले डेढ अर्ब बिगो दाबी गर्दै जिल्ला अदालत पोखरामा मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगोसहित १२ वर्षसम्म जेल सजायको माग गरिएको छ ।
सहकारी रजिस्टारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका सञ्चालकहरुले एक अर्ब ५४ करोड १५ लाख रुपैयाँ रकम अपचलन तथा हिनामिना भएको छ । रजिस्टारको कार्यालयले पत्र लेखेपछि यसअघि प्रहरीले अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइरालासहित व्यवस्थापक, कर्मचारी प्रमुख, कानुनी सल्लाहकार, पूर्व कोषाध्यक्ष, कर्जा अधिकृत र सेयर सदस्य गरी ९ जनालाई पक्राउ गरिसकेको छ ।
उनीहरुले कृत्रिम खाता खोलेर करोडौँ रुपैयाँ अपचलन गरेको बताइएको छ ।