काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ग्रे मोबाइलका कारण सरकारले ठूलो राजस्व गुमाइरहेको बताएकी छिन् । मोबाइल व्यवसायी महासंघको महाधिवेशन तथा साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले भनिन्, ‘ग्रे मोबाइलहरू बजारमा हाबी भएका छन् । सरकारले ठूलो राजस्व गुमाइरहेको छ । व्यवसायीहरूको व्यवसाय चौपट भइरहेको छ । यस्ता समस्या समाधान गर्न हामी एमडीएमएस लागू गर्यौँ । तर, प्रभावकारी हुन सकेन ।’
त्यस्तै, उनले मोबाइल व्यवसायीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाइन् । उनले भनिन्, ‘मोबाइल व्यवसायीहरूले हजारौँलाई रोजगारी दिएको छ । यस क्षेत्रमा लाखौँ व्यक्तिहरू आश्रित रहेका छन् । यसभित्र पनि विभिन्न समस्याहरू रहेका छन् । यस क्षेत्रमा भएका समस्याबारे सरकार जानकार छ । यस क्षेत्रका समस्या समाधानका लागि हामी तत्पर रहेको जानकारी गराउदछु ।’
नेपालको व्यवसाय फस्टाउन र संरक्षण गर्नु पर्ने आजको आवश्यकता रहेको उनको भनाई छ । मुलुकमा व्यवसायीमैत्री नीति बनाउन सरकार लागि परेको उनको दाबी रहेको छ ।
नेपालमै मोबाइल फोनहरूको एसेम्बल गर्न सकेमा हाम्रो मुलुकले राम्रो फाइदा लिन सक्ने उनको भनाइ रहेको छ । यसबारे व्यवसायीहरुलाइ योजना बनाउनका लागि उनले आग्रह समेत गरिन् ।