काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले चोरीका मोबाइलका कारण व्यवसायी मारमा परिरहेको बताएको छ । शुक्रबार मोबाइल व्यवसायीहरूको साझा संगठन नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो केन्द्रीय महाधिवेशन तथा तेस्रो वार्षिक साधारण सभामा उनले खुल्ला सिमानाका कारण सहजै चोरी पैठारीबाट मोबाइल भित्रिरहेको बताए ।
उनले भने, 'खुल्ला सिमानाका कारण सहजै चोरी पैठारीबाट मोबाइल ल्याइँदा व्यवसायी मारमा छन् । यसबारे भन्सारमा जानकारी गराए पनि कुनै समस्या समाधान भएको छैन ।'
देशभर ८० हजारलाई रोजगारी दिएको मोबाइल व्यवसायीलाई सरकारले बेवास्ता गरेको उनले बताए । केही कम्पनीको अझै सिन्डिकेट रहेकोमा सरकारले यस क्षेत्रलाई पारदर्शी एवं वैधानिक व्यवसायी वातावरण बनाउन नचाहेको उनको भनाइ थियो ।
जस कारण मुलुकमा टिक्न सक्ने वातावरण नरहेको र व्यवसायीहरू विदेश पलायन हुने क्रम बढेको जानकारी उनले दिए । 'जसोतसो मुलुकमा टिकिरहेका व्यवसायीहरूलाई सरकारले आत्महत्या गर्ने अवस्थामा पुर्याउन खोजेको हो ?,' उनले प्रश्न गरे ।