नक्कली चुरोट बजारमा छ्याप छ्याप्ती - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

नक्कली चुरोट बजारमा छ्याप छ्याप्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
Sunrise bank
नक्कली चुरोट बजारमा छ्याप छ्याप्ती
LBEF
NCH-IPS

काठमाडाैं । सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ।

नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको छ। तस्करले खुला सिमानाको फाइदा उठाएर नक्कली चुरोट बलेकिया (अवैद्य सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री गरिरहेका छन्।

नेपाली बजारलाई लक्ष्य गरी निर्माण गरिएका नक्कली चुरोटको बट्टा हेर्दा खुकुरी र शिखर ब्रान्डको झै देखिए पनि यसमा कम्पनीको स्टिकर भने हुँदैन। तर, चुरोट खाएपछि यसको गुणस्तर सजिलै फेला पार्न सकिने सूर्य नेपाल कम्पनी प्राइभेट लिमिटेडका बजार प्रवक्ता प्रकाश भण्डारीले बताए। ‘६ महिनादेखि नक्कली चुरोटको तस्करी भइरहेको छ’, भण्डारीले भने, ‘दुई तीन महिनाको अवधिमा मात्रै पाँच करोडभन्दा बढीको नक्कली चुरोट धनुषालगायत छिमेकी जिल्लामा बिक्री भएको छ।’

नेपालमा उत्पादन हुने खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट तस्करहरूको मध्यमबाट भारतबाट भित्र्याएर अवैध धन्दा चलाएको भेटिएको हो । नक्कली चुरोटको कारोबार भइरहेको जानकारी आएपछि प्रहरी र भन्सारले धनुषाका केही स्थानमा छापा मारेर नक्कली चुरोट बरामद गरेको थियो ।

भारतबाट अवैध रूपमा आयातित नक्कली चुरोट अन्तःशुल्कको स्टिकरबिनै विक्री भइरहेको भेटिएको छ । नेपालमा ती ब्रान्डका उत्पादक सूर्य नेपाल प्रालिका प्रतिनिधिले सरोकारका निकायलाई नक्कली चुरोटको कारोबारका बारेमा जानकारी गराएका थिए ।  धनुषाको जनकपुर र आसपासका क्षेत्र, महोत्तरी, सर्लाही, सप्तरी र रौतहटका सीमावर्ती क्षेत्रमा नक्कली चुरोटको खुलेआम विक्री भइरहेको सूर्य नेपाल प्रालिका २ नम्बर प्रदेश प्रबन्धक प्रकाश भण्डारीले दाबी गरेका छन् ।

ती जिल्लाका सीमावर्ती क्षेत्रबाट महिनामा कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अवैध रूपमा भित्रिने गरेको दाबी स्वदेशी उत्पादकको छ । अवैध कारोबारीले प्रतिमहिना करिब ३/४ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान प्रबन्धक भण्डारीको छ । नियन्त्रणका निकायले कारबाहीमा खासै चासो नदेखाएको आरोप उत्पादकका प्रतिनिधिले लगाएका छन् ।

राजस्व छल्नेलाई सरकार आफैले कडा कानुनी कारबाही गर्नुपर्नेमा मुद्दा चलाउन आग्रह गर्दासमेत त्यस्ता व्यवसायीलाई कारबाही अघि बढाउन सरोकारवाला निकाय सक्रिय नदेखिएको ती प्रतिनिधिले बताए । अन्तःशुल्क छल्ने अवैध कारोबारीलाई थुनामा राखेर कारबाही अघि बढाउन माग गर्दै सूर्य नेपालका विक्रेताहरूले धनुषा प्रशासन, प्रहरी, राजस्व अनुसन्धानलगायतका निकायमा जाहेरी दिएका छन् ।

नक्कली चुरोटको अवैध कारोबारबारे सूर्य नेपालका प्रतिनिधिले जानकारी दिएपछि एक महिनाअघि जनकपुरका विभिन्न स्थानमा छापा मारेर ठुलो परिमाणमा चुरोट बरामद गरिएको थियो । प्रहरीले जनकपुरको माछाबजारस्थित दीपेश किरानामा छापा मारेर नक्कली चुरोटसहित २ जनालाई पक्राउ ग¥यो । तर, पक्राउ परेका दुवै जनालाई प्रहरीले छोडिसकेको छ ।

त्यसै गरी जनकपुर भन्सारले गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको थियो । भन्सारले पनि अनुसन्धानका लागि आवश्यक परे बोलाउने भन्दै व्यवसायीलाई छोडिदिएको थियो ।

आन्तरिक राजस्व कार्यालयका प्रतिनिधि र भन्सार कार्यालय जनकपुरको संयुक्त टोलीले बिहीबार दुवै किराना पसलमा छापा मार्दा दुई कार्टुन खुकुरी चुरोट र दश प्याकेट शिखर चुरोट बरामद गरेको थियो।

२ नम्बर प्रदेशका ७ ओटै जिल्लाको सिमाना भारतसित जोडिएको छ । खुला सिमाना दुरुपयोग गरी व्यवसायीले भारतमा बनाइएको नक्कली चुरोट भित्र्याउने गरेका छन् । यस्तो अवैध धन्दालाई स्थानीय प्रहरी प्रशासनले संरक्षण दिएको आरोप स्वदेशी उत्पादकको छ । सिमानामा अवैध गतिविधि नियन्त्रणका लागि भन्दै सशस्त्र र जन पथ प्रहरी खटाइए पनि नक्कली उत्पादन भित्रिनुले मिलेमतोको आशङ्का गरिएको छ । सीमावर्ती क्षेत्रबाट सुर्ती र सुपारी जन्य उत्पादनको अवैध आयात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस