तिहार नजिकिँदै गर्दा पनि सुन किन्ने ग्राहक छैनन् - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

तिहार नजिकिँदै गर्दा पनि सुन किन्ने ग्राहक छैनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
Sunrise bank
तिहार नजिकिँदै गर्दा पनि सुन किन्ने ग्राहक छैनन्
LBEF
NCH-IPS

काठमाडौं । सुनको मूल्य बढेपछि यसपटकको तिहार नजिकिँदै गर्दा पनि सुन पसल सुनसान देखिका छन् । तीज र दशैंको समयमा बिक्री नभएको सुन तिहारमा बिक्री हुने अपेक्षा व्यापारीले गरेका थिए। तर, उनीहरुको त्यो अपेक्षा तिहारमा पनि पूरा हुन सक्ने सम्भावना छैन ।

अघिल्लो वर्षको तीज र दशैंमा जति सुन बिक्री हुने गरेको थियो । यो भन्दा निकै कम यस वर्षको तीज र दशैंमा बिक्री भएको व्यवसायीको भनाइ छ । तिहारमा पनि त्यही स्थिति दोहोरिने निश्चितजस्तै भएको उनीहरुको भनाइ छ ।सुनको मूल्य बढेपछि बिक्रीमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अघिल्लो वर्षको तीज र दशैंमा दैनिक ५० किलो सुन बिक्री भएको थियो । तर, यसपालीको उक्त चाडपर्वमा मुस्किलले १० किलो सुन बिक्री भयो ।’ तिहारमा पनि तीज र दशैंमा जस्तै कम सुन बिक्री हुने सम्भावना देखिएको छ ।

केही समयअघि प्रतितोला ६० हजारको हाराहारीमा किनबेच हुँदै आएको सुनको मूल्य एकाएक बढेर ७० हजार माथि पुगेपछि बिक्री हुन छोडेको व्यवसायीको भनाइ छ। ‘प्रतितोला ७० हजारभन्दा कम भयो भने सुन बिक्री केही बढ्ने र त्यो मूल्यभन्दा बढी हुँने बित्तिकै सुन बिक्री हुनै छोड्ने गर्छ,’ शाक्यले भने–‘तीज, दशैं र तिहार शुरु हुनु भन्दा अघिदेखि नै  सुनको भाउ ७० हजारभन्दा माथि पुगेकाले सुन बिक्रीमा कमी आएको हो।’ 

अघिल्लो वर्षको तीज, दशैं र तिहारमा सुन किन्नेको घुइँचो लाग्ने गरेकोमा यसपटक भने त्यसको ठिक विपरित सुन बिक्री गर्नेको भीड देखिएको छ । मूल्य उच्च भएपछि खरिद गर्ने भन्दा पसलमा पुरानो सुन बिक्री गर्नेको घुइँचो तिहारको पूर्वसन्ध्यामा लागेको एक व्यवसायीले बताए । सुन बढेर ७० हजार रुपैयाँभन्दा माथि पुगेकाले सुन बिक्री गर्नेको घुइँचो लागेको शाक्यको भनाइ छ।

सुनको मूल्य अघिल्लो तिहारमा भन्दा यसपटकको तिहारमा निकै बढेकाले सुन किन्ने भन्दा बिक्री गर्नेको संख्या बढेको व्यवसायी बताउँछन् ।‘सुनको मूल्य बढेको बेलामा बिक्री गर्दा फाइदा हुने भएकाले बिक्री गर्न आउने बढेका हुन् ’ एक व्यवसायीले भने–‘ कतिपय भने तिहार खर्च जोहो गर्न पनि सुन बिक्री गर्न आउने गरेका छन् ।

सामान्य नागरिकले ढिक्का सुनभन्दा पनि सुनका गहना किन्ने भएकाले त्यही सुन बिक्री गर्न आउने व्यापारीको भनाइ छ । सुन महँगो भएका बेला पुराना हार, नेकलेस, चुरालगायतका सुनका गरगहना बेच्ने धेरै हुन्छन् ।  भाउ बढेदेखि नै सुन बिक्री गर्नेको चाप पर्दै आएको व्यवसायी बताउँछन् । त्यसैगरी, मूल्य घट्दा सुन किन्ने बढ्छन् । सुनको मूल्य घट्दा दैनिक ४० किलोको सुन माग हुने शाक्यले बताए । तर, सुनको मूल्य बढ्दा माग पनि स्वात्तै घटने गर्छ ।
‘सुनको माग कम हुँदा व्यवसायीले बिक्री गर्ने ठाउँ छैन,’ शाक्यले भने–‘सरकारले खपत हँुदा सुनको आयात बढाउने र माग हुन छाडेका बेला खरिद गर्ने व्यवस्था गर्नुपर्छ ।’ सरकारले चाडपर्व (सिजन) मा दैनिक २५ किलो र अन्य समय (अफ सिजन) मा भने दैनिक २० किलो मात्रै सुन ल्याउन दिँदै आएको छ।

सुनको मूल्य बढ्दा बिक्रीमा कमी आउने र मूल्य घट्दा बिक्री बढी हुने गरेको अनुभव पनि ती बैंकरले सुनाए । विश्व बजारमा शक्तिशाली राष्ट्रबीचको व्यापारिक तनावले स्थानीय बजारमा सुनको भाउ उच्चविन्दुमा पुगेको छ । विश्व बजारमै सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ४ सय डलर पुगेको छ ।

सुनमा गरिएको लगानीलाई सबैभन्दा सुरक्षित मानिने गर्छ। त्यसैले पनि शेयर र डलर खरिद गर्न छाडेर सुन खरिद गर्न थालिएकाले पनि भाउ बढ्न पुगेको हो । 
 

प्रतिक्रिया दिनुहोस