लगानीकर्तालाई लाभांश ‘बुक’ गर्ने चटारो, धेरैको ध्यान लाभांश घोषणा नगरेका कम्पनीतर्फ - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

लगानीकर्तालाई लाभांश ‘बुक’ गर्ने चटारो, धेरैको ध्यान लाभांश घोषणा नगरेका कम्पनीतर्फ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
लगानीकर्तालाई लाभांश ‘बुक’ गर्ने चटारो, धेरैको ध्यान लाभांश घोषणा नगरेका कम्पनीतर्फ
LBEF
NCH-IPS

काठमाडौं । लगानीकर्ताले ध्यान लाभांश घोषणा नगरेका कम्पनीतर्फ गएको छ । उच्च लाभांश पाउने अपेक्षा गरेका कारण लगानीकर्ताको ध्यान त्यतातिर केन्द्रित भएको हो । लाभांश घोषणा नगरेका कम्पनीको शेयर कारोबार रकम बढ्नुले पनि यो भनाइलाई पुष्टि गर्छ । वाणिज्य बैंककै कुरा गर्ने हो भने अहिलेसम्म १४ वाणिज्य बैंकले मात्र लाभांश घोषणा गरेका छन् । 

उच्च लाभांश घोषणा गर्ने सम्भावना रहेका नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंकलगायतका बैंकका शेयरमा लगानीकर्ताको ध्यान केन्द्रित भएको छ । 
त्यसैगरी बीमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर खरिदमा चाप देखिएको छ ।

अहिलेसम्म २ सय १७ सूचीकृत कम्पनीमध्ये ९१ वटाले मात्र लाभांश घोषणा गरेका छन् । बाँकी २ सय २६ कम्पनीले अझै लाभांश घोषणा गरेका छैनन् । ती कम्पनीमध्ये उच्च लाभांश दिन सक्ने सम्भावना भएका कम्पनीको शेयरमा लगानीकर्ताको ध्यान केन्द्रित भएको हो ।

लाभांश घोषणा नगरेका कम्पनीले गत आर्थिक वर्षमा कति नाफा कमाएको छ । त्यसको चुक्ता पुँजी कति छ ? लामो समय शेयरमा खेलिरहेका खेलाडी लगानीकर्ताले सबै पक्षको विश्लेषण गरेर शेयर खरिद गर्दै छन् भने नयाँ लगानीकर्ता अरुले के भन्छ, त्यसैको पछि दौडेर लगानी गर्दैछन् । 

नाफा, चुक्ता पुँजी र सञ्चालक समितिमा कस्ता व्यक्ति छन् । त्यसका आधारमा कति लाभांश दिन सक्छ भन्ने विश्लेषण गरेर शेयर खरिद गरिद गर्ने लगानीकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । चुक्ता पुँजी कम भएकाले बोनस शेयर दिन सक्ने सम्भावना भएकाले पनि लगानीकर्ताको प्राथमिकता त्यस्ता कम्पनीतर्फ बढी भएको एक शेयर विश्लेषकले बताए । 

अहिले शेयर लगानीकर्तालाई किसानले अन्नबाली भित्र्याउने बेला पर्ने चटारोजस्तै परेको छ । यतिबेला राम्रो प्रतिफल दिने शेयर किनियो भने त्यसले लाभ हुने र किसानले वर्षदिन पुग्ने बाली भित्र्याएजस्तो हुने उनीहरुको भनाइ छ ।  उता, राम्रो नाफा कमाउने बैंक तथा वित्तीय संस्थाको शान पनि कम्ती चुरीफुरी देखिँदैन । अरु भन्दा फरक हुन धेरैले लाभांश घोषणा गरेपछि बीच–बीचमा लाभांश घोषणा गरौला भन्ने कम्पनीका सञ्चालकहरु पनि छन् ।

पुराना बैंक एकले अर्कोले लाभांश घोषणा कति र कसरी (नगद वा बोनस) वितरण गर्छ त्यसैको आधारमा आफूले पनि लाभांश घोषणा गर्नु पर्ला भन्ने प्रतीक्षामा छन् । त्यसैले लाभांश वितरणमा ढिलाइ भएको एक बैंकरले बताए । एक दुई वाणिज्य बैंकबाहेक अरुले तिहार अघि नै लाभांश घोषणा गर्ने तयारीमा रहेको जानकारी पनि ती बैंकरले दिए । 

एउटाले घोषणा गर्न साथ अर्कोले पनि त्यही अनुसार लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याएपछि बोनस शेयरभन्दा नगद लाभांश बढी वितरण गर्न थालेका छन् ।  चुक्ता पुँजी ८ अर्ब पुर्याउनु पर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका बैंकहरुले यसपटकदेखि नगद बढी र बोनस शेयर कम बितरण गरेका हुन् ।अहिलेसम्म लाभांश घोषणा गरेको १४ वाणिज्य बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस शेयर कम वितरण गर्दै छन् । 
 
गत वर्षभन्दा यो वर्ष बढाएर धमाधम लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । अधिकांश बैंकले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् । लाभांश घोषणा गर्न बाँकी बैंकले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । बैंकबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ ।  
 
लाभांश घोषणा गर्न बाँकी बैंकलाई लाभांश बढी वितरण गर्न दवाव सिर्जना भएको छ । घोषणा गर्न बाँकी वाणिज्य बैंकले आर्थिक वर्ष २०७४/०७५ मा बाडेको लाभांशभन्दा आर्थिक वर्ष २०७५/०७६ मा बाड्ने लाभांश बढाउने अनुमान लगानीकर्ताले गरेका छन् ।
 प्रत्येक बैंकले चुक्ता पुँजी बढाएकाले बैंकको लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा बैंकको नाफा बढेको बैंकरको भनाइ छ । लगानीकर्ता पनि जसले बढी लाभांश वितरण गर्ने सम्भावना छ, त्यही कम्पनीको शेयर खोजी–खोजी खरिद गरिरहेका छन् ।
  
 

प्रतिक्रिया दिनुहोस