aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 

श्रमिकहरुलाई हेर्ने दृष्टिकोण अझै पुरानै सामन्ती सोँचबाट ग्रसित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
Sunrise bank
श्रमिकहरुलाई हेर्ने दृष्टिकोण अझै पुरानै सामन्ती सोँचबाट ग्रसित
NIBL-Capital-inside
LBEF

आज मे महिनाको पहिलो दिन अर्थात अन्तरास्ट्रिय श्रमिक दिवस । 'बिश्व भरिका श्रमिकहरु एक हौ'भन्ने मूल नाराका साथ  बिश्वभर नै १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ मा श्रमिक दिवस मनाउन थालिएको  हो  ।

नेपालमा भने सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आइरहेको छ। तर यस दिनलाई वि.सं २०६४ बाट मात्र आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गर्दै औपचारिक कार्यक्रमहरू गर्दै आइरहेको छ ।

विश्वमा अहिले पनि हुनेखाने र हुदाखाने दुई वटा बर्गको अन्तरसंघर्ष चल्दै आएको छ । हुनेखाने बर्गले हुँदाखाने बर्गलाई श्रमको रुपमा परिचालन गरि बस्तु उत्पादन तथा सेवा प्रधान गर्दछ भने हुँदाखाने बर्गले मानसिक तथा शारीरिक श्रमको माध्यमबाट आफ्नो दैनिक गुजारा चलाईरहेको हुन्छ । यिनै श्रमिक बर्गको अधिकारका लागि नेपालमा पनि बर्षेनी मे १ तारिकका दिन 'बिश्व भरिका श्रमिकहरु एक हौ'भन्ने ब्यानर बोकेर  विभिन्न राजनितिक दल सम्बन्धित ट्रेड युनियनहरुले छुट्टा-छुट्टै कार्यक्रम गरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइरहेका छन् । जब सम्म श्रमिकहरुले  यो वा त्यो पार्टी नभनी एकै छातामुनी गोलबन्द भई आफ्नो  आवाज बुलन्द गर्न सक्दैनन् तब सम्म  श्रमिक दिवश मनाउनुको कुनै औचित्य छैन।
अक्सफाम नामक सँस्थाले गरेको एक रिपोट अनुसार विश्वका आठ सबैभन्दा धनी व्यक्तिसँग सबैभन्दा गरीब आधा जनसंख्या बराबरको सम्पत्ति (विश्वका गरिब ५० प्रतिशत मानिससँग मात्र ४ खर्ब नौ अर्ब डलर सम्पति छ भने यी धनी ८ जनासँग ४ खर्ब २६ अर्ब डलर सम्पति)  रहेको जनाएको छ। यो रिपोट बाट पनि के थाहा हुन्छ भने संसारभर आर्थिक बृध्दि तिब्र गतिमा भइरहँदा हुनेखाने वर्गहरुलाई फाइदा पुगेको तर गरीब श्रमिक वर्ग भने झन्-झन् गरिबीको खाडलमा भासिएको देखिन्छ । यस्तो अर्थतन्त्रको असन्तुलित वितरण तथा सिद्धान्तका कारण निकट भविष्यमा नै  भयानक परिस्थीतिको बिकराल समस्या नआउला भन्न सकिदैन।

२००७ साल देखि नै श्रमिक वर्गहरुको पक्षमा राजनीतिक–सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक जनसंघर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन् तर बिडम्बना नै भन्नु पर्छ तिनै श्रमिक वर्गको अहिलेसम्म गाँस,बास,र कपासको न्युनतम आधारभूत  आवश्यकता पनि पुरा हुन सकेको छैन ।अहिले पनि धेरै श्रमिकले न्यूनतम तलब पाउन सकेका छैनन् । 

 अहिले पनि  ठूला र राम्रा भनिएका २७ दशमलव १२ प्रतिशत रोजगारदाताले न्यूनतम पारिश्रमिक दिएका छैनन् । ४४ दशमलव ७ प्रतिशत रोजगारदाताले रोजगार सम्झौताबिना काममा लगाउने गरेका छन् । ५९ दशमलव ३२ प्रतिशत रोजगारदाताले श्रमिकलाई ८ घण्टाभन्दा बढी काम गर्न बाध्य बनाउने गरेका छन् ।

यस बिचमा सरकारले श्रमिकहरुको हक–अधिकार सुनिश्चित गर्न भन्दै करिब ५५ लाख खर्च गरेर तामझामका साथ सुरु गरेको  योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकवर्गहरुमा ठुलो उत्साह थप्ने काम गरेको थियो तर त्यो उत्साह केहि दिन पनि टिक्न पाएन । उक्त सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको छ महिनाभन्दा बढीको अवधिमा जम्मा ९ लाख संघसंस्थामध्ये दुई हजार पाँच सय संघसंस्था मात्रै सूचीकृत भएका छन् । यस बाट  के पुष्टी हुन्छ भने श्रमिकहरुलाई हेर्ने दृष्टिकोण अझैँ पनि पुरानै सामन्ती सोचबाट ग्रसित रहेको छ ।


अब समय आएको  छ   आफु आबद्ध संघसंस्थाहरुलाई सरकारले ल्याएको सामाजिक सुरक्षा कोषको कार्यान्यनको लागि रचनात्मक दबाव दिएर अघि बढ्ने अनि  मात्रै  अन्तराष्ट्रिय मे दिवस मनाउनुको औचित्य  पृष्टि हुनेछ ।  यसका लागि आजैबाट  सम्पूर्ण  श्रमजीविबर्गहरूले एक पटक पुन: शान्तिपूर्ण तवरले आन्दोलित हुन संकल्प पो गर्नु पर्ने हो की  ?


 

प्रतिक्रिया दिनुहोस