गैर आवासीय नेपालीको नपरौं है भर - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike
टिप्पणी

गैर आवासीय नेपालीको नपरौं है भर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise bank
गैर आवासीय नेपालीको  नपरौं है भर
LBEF
NCH-IPS

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । अनि सञ्चार माध्यमहरुमा यो अधिवेशन मार्फत एनआरएनएले कस्तो नेतृत्व प्राप्त गर्ला भन्ने चर्चा पनि निकै छ । र, एनआरएनले नेपालको विकासमा कस्तो योगदान गर्न सक्छन् भन्ने बहस पनि चलिरहेको छ । तर, एनआरएनएबारे आउने समाचार र टिप्पणीलाई ’बेफ्वाँकको कुरा’ र ’अतिरन्जित चर्चा’ भन्नेहरुको संख्या पनि ठुलै देखिएको छ । 

नेपालको विकास निर्माणमा महत्वपूर्ण भूमिका हुनसक्छ भन्ने अपेक्षा गरिएको समुदायसँग नेपाल मै बस्ने मानिसहरुको यस्तो बितृष्णा किन उत्पन्न भयो ? यो प्रश्न अहिले एनआरएनएको महाधिवेशन चलिरहेका बेला जायज हुनसक्छ । के धेरै मानिसहरुले भने झैँ नेपालमा पÞmुई लगाउनमात्र आएका हुन् त एनआरएनहरु ? यसबीच देखिएका केहि घटना र तथ्यले होइन भन्न सक्ने अवस्था छैन । 

एनआरएन भर्सेस नांगाबाबा

तथ्यहरुको आधार लिएर केहि खुलेर आलोचना गर्ने हो भने भन्न सकिन्छ कि शिवरात्रीको बेला भारतबाट आउने नांगाबाबा र नेपालमा अधिवेशन गर्न आउने एनआरएनहरु उस्तै हुन् । यहाँ आउँछन, बस्छन, खान्छन् र अन्त्यमा नानाथरी आरोप र असन्तुष्टि पोख्दै फर्कन्छन् । कसैले कहाँको एनआरएनए, कताको पशुपतिमा आउने जोगी के तुलना गरेको भन्न सक्छन् तर किन मिल्छ भने आखिर एनआरएनए सम्मेलन पनि त नेपाल सरकारको आर्थिक सहयोग र नेपाल कै व्यापारीहरुको प्रत्यक्ष सहभागितामा नै भैरहेको छ ।

त्यसो त शिवरात्रिको बेला जोगीलाई भोजन गराउन पनि यिनै नेपाली व्यापारीहरु नै जान्छन् । जसको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले अहिले एनआरएनएलाई सम्मेलन गर्न साथ दिइरहेको छ । पशुपति विकास कोषले त दक्षिणा दिने हो जोगीलाई अहिले पर्यटन मन्त्रालयले एनआरएनएलाई आर्थिक सहयोग दिए जस्तै । 

एनआरएन र जोगीबीच अर्को रोचक समानाता पनि देखिन्छ । त्यो हो, नेपालले वातावरण नबनाए हामी मुलुकको विकासमा केहि योगदान गर्न सक्दैनौ भन्दै व्यक्तिगत लाभको सर्तहरु तेस्र्योउने एनआरएनहरु । अनि चित्तबुझ्दो भेटी पाइएन सत्कारमा कमी रहयो भन्दै नेपाली र नेपालीलाई सराप्दै हिड्ने जोगीहरु । यहा यसो किन भनियो भने दुबै आफ्ना लागि नेपालमा आउँछन् र स्वार्थ पुरा नभएपछि रिसाएर जान्छन् । 

अर्को पाटो पनि छ, आकर्षणको । शिवरात्रिमा पशुपतिमा जाने शिवभक्तको नांगाबाबाको समिपमा जाने र सेल्फी खिच्ने लालसा यहाँका केहि त्यस्तै एनआरएनभक्तहरुमा पनि देखिएको छ । जोगिसँग सोली मागेर दुई सर्को तान्ने प्रवृति र एनआरएनसँग एकसाँझ रम्ने रहरको बीच तुलना गर्न नमिल्ने कुरै भएन । त्यसैले पनि चर्चा गरिन्छ, भैरहेको छ । आखिर नून खाएपछि गुनगान गाउँनै पर्यो । कतिपय मिडियामा त्यसै भैरहेको छ भन्नेहरु पनि प्रसस्त भेटिन्छन् ।

पशुपतिको जात्रा, सिध्राको व्यापार 

संयोग हो वा सुविचारित कार्यसूची, चाहे जे होस, एनआरएनएको अधिवेशन दशैं र तिहारको बिचमा गरिएको छ । मनौ की यो अधिवेशन पुसरमाघमा हुन्थ्यो भने सहभागिताको हानाथाप हुन्थ्यो वा हुँदैनथ्यो होला ? अहिले त उनीहरु दशैँ अगाडि आए, दशैँ माने अब तिहार मानेर फर्कन्छन् । यहाँ नेपालको लाभ कहाँ छ ? बरु एनआरएनहरु पशुपतिको जात्रामा सिध्राको व्यापार गरिरहेका छन् ।

यसरी एकातिर राष्ट्रपतिले उद्घाटन गर्ने, मन्त्रीहरुले सम्बोधन गर्ने र प्रधानमन्त्रिले समापन गर्ने र यी  चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ । उनीहरु एकपन्थ, दुइ काम गरिरहेका छन् । अनि भन्दैछन, नेपालमा लगानीको वातावरण नै भएन । सरकारले गर्ने जति गरिदिएकै छ । आएर लगानी गर्न सबै प्रक्रिया खुल्ला छ । राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रि सबैले भनेकै छन् ( आउनुहोस, लगानी गर्नुहोस । तर, रटान उही छ,‘वातावरण नै छैन’ ।   

एनआरएनहरुलाई सोध्नै पर्ने भएको छ, वातावरण भएन कि तपाईहरुको मन छैन ? वा, फुइँ मात्रै हो ? कि तपाईहरुसंग पैसै पो छैन कि ? नत्र यो भल छोपाई किन ? जात्रा मै व्यापार गर्ने सोच आउनुको पछाडि अर्कै केहि कारण छ त ?

भो, एनआरएनबाट नसिकौं

एनआरएनएका प्रायजसो नेताहरु औपचारिक, अनौपचारिक छलफल, भेला र जमघटमा भन्ने गर्छन्– नेपालले एनआरएनबाट सिकोस् । तर, एनआरएनएको पछिल्लो अवस्था हेर्दा भन्नै पर्ने भएको छ, भो एनआरएनबाट नसिकौं । के सिक्ने उनीहरुबाट ? आर्थिक अनियमितता ? आपसी द्वन्द ? तिकडम वा नेपाली राजनीतिक दलका नेताको चाकरी ? 

अहिले देखियो, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो सम्मेलनमा सहभागी नै भएनन् । उनको असन्तुष्टि अरु केहि होइन एनआरएनए भित्र दलिय राजनीति घुसेकोमा आपत्ति मात्र हो । हुन पनि अब एनआरएनए नेपालका ठूला राजनीतिक दलको भातृ संगठन मात्र बनेको छ । चालु अधिवेशनमा कम्युनिष्ट र कांग्रेसको छुट्टाछुट्टै प्यानल नै देखियो । अब गैर आवासीय नेपालीको कुनै साझा संगठन छैन र रहेन ।  अबको एनआरएनए कुनै दल विशेषको भातृ संगठन मात्र रहनेमा दुईमत छैन ।

यस अर्थमा यो पनि भन्न सकिन्छ कि चालु अन्तर्राष्ट्रिय अधिवेशन एनआरएनएको अवसानको अधिवेशन  बन्दैछ । अहिले होटल हायातमा त्यसको दाहसस्कार भैरहेको छ । हामीले के देखिसक्यौं भने एनआरएनए अब आर्थिक रुपमा पनि खोक्रो  भैसकेको छ । दलका कार्यकर्ताबाट उठाएको रकममा नेताले रजाई गरे झैँ  एनआरएनएका अगुवाहरु पनि सदस्यको लेभिमा मस्त छन् । कुनै खास कार्य योजना छैन । नत नेपालबारे कुनै चिन्ता नै एनआरएनहरुमा छ ।

म, मेरो एनआरएन र मेरो नेपाल

यस वर्षको अधिवेशनको नारा छ– ‘म, मेरो एनआरएन र मेरो नेपाल’ । यसमा सबैभन्दा अगाडि रहेको ‘म’ भन्दामाथि अहिलेसम्म एनआरएनएका कुनै नेता उठन् सकेको देखिएको छैन । सरकारसँग नागरिकता र अन्य थप सुविधा माग्ने क्रममा यो स्पष्ट देखिएको छ ।

विदेशी नागरिकता लिएका एनआरएनहरु यदि केहि समय नेपाल बस्दा भिषा वापत तिर्नुपर्ने रकम जोगाउन नेपाली नागरिकता चाहियो भन्छन् भने उनीहरुबाट नेपालले के आश गर्ने ? अरु त उनीहरुबाट आउँछ वा आउँदैन थाहा छैन तर भिषा शुल्क चाहिं पक्कै तिर्छन् भन्ने त छ अहिलेसम्म । त्यसैले पनि एनआरएनहरुलाई बिना शुल्क छुट्टी मनाउने ठाउंको रुपमा स्थापित गर्ने बाहेक उनीहरुको अरु मनसुबा देखिंदैन ।

प्रतिनिधि छनौटमा नै देखियो लफडा जसले उनीहरु एनआरएनएलाई आफ्नो आदर्श संगठन बनाउन खोजिरहेका छैनन् । ’मेरो एनआरएन’ भन्ने त फगत नारामा मात्र रहयो । त्यो अब दलिय संगठन हो, कुनै पार्टीका नेताको आदेशमा चल्ने । 

अर्को छ, ’मेरो नेपाल’ नेपाल छोडेर बाहिरी मुलुकमा गई उतैको नागरिकता लिएका अनि सामाजिक सञ्जालमा नेपाल र नेपालीलाई तथानाम गाली गर्नेहरुले कसरी र किन ‘मेरो नेपाल’ भनिरहेका होलान् भन्ने शायद यहाँ ब्याख्या गरिरहनुपर्ने जरुरत छैन । बरु के चाहिं स्मरण गरौँ भने सम्मेलनमा भागलिन अस्ट्रेलियाबाट आएका नेपाली मुलका एक अस्ट्रेलियन नागरिकले भिषादिन किन ढिलो गरेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको काउन्टर नै फोडे । बस, यसले प्रष्ट्र पार्छ, उनीहरुको ’मेरो नेपाल’ भित्रको उदेश्य ।
 

प्रतिक्रिया दिनुहोस