aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

सुन नबिकेपछि बैंकले ल्याउनै छोडे, ६ सय ५० किलो सुन लकरमै थन्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise
HIb
सुन नबिकेपछि बैंकले ल्याउनै छोडे, ६ सय ५० किलो सुन लकरमै थन्कियो
LBEF

काठमाडौं । सुनको मूल्य अत्यधिक बढेर प्रतितोला ७० हजारभन्दा माथि पुगेपछि बैंकहरुले ल्याएको सुन बिक्री हुन छोडेको छ । बैंकले  ल्याएको ६ सय ५० किलो सुन बिक्री नभएर लकरमा थन्किएको छ । सुन बिक्री हुन छोडेपछि बैंकले गत असारदेखि नै सुन ल्याउन छोडेका छन् ।

बैंकले सुन ल्याउन छोडे पनि अवैध रुपमा आउने सुन र पुराना गहना बिक्रीले बजारको माग धानिरहेको व्यसायीहरुको भनाइ छ । अत्याधिक मूल्य वृद्धि भएका कारण बैंकले ल्याएको सुन बिक्री नभएको उनीहरुको भनाइ छ । प्रतितोला ७० हजार रुपैयाँभन्दा माथि पुग्दा सुन बिक्री गर्न आउने र त्यो मूल्यभन्दा कम हुँदामात्रै खरिद गर्न आउने गरेको व्यवसायीहरु बताउँछन् ।

सुनको मूल्य उच्च भएपछि पसलमा पुरानो सुन बिक्री गर्नेको घुइँचो लाग्दै आएकोछ भने नयाँ बिक्री हुन छाडेको छ । अबैध बाटोबाट आउने सुन र पुरानो गहनाले बजारको माग धानिरहेकाले बैंकले ल्याएको सुन बिक्री नभएको एक बैंकरले बताए । ‘बैंकले ल्याएको सुन बिक्री नभएका कारण ल्याउन छोडेका हौं’, उनले भने–‘ल्याएको सुन पनि बिक्री नभएर थुप्रिएको छ ।’
 
केही महिनाअघि प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको सुन बढेर ७० हजारभन्दा माथि पुगेको छ । सुन किन्न आउने भन्दा बिक्री गर्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ‘सुनको मूल्य बढेको बेलामा बिक्री गर्दा फाइदा हुने भएकाले बिक्री गर्न आउने बढेको हुन,’ उनले भने– ‘कतिपय भने पैसा अभावले पुरानो सुन बिक्री गर्न आउँछन् ।’

सुन महँगो भएका कारण यसपटकको दशैंमा गत वर्षको तुलनामा कम सुन बिक्री भएको व्यवसायी बताउँछन् । दशैंको समयमा पनि सुन खरिद भन्दा बिक्री गर्ने बढेको सुन व्यापारीको भनाइ छ । 

सुन बिक्री अत्याधिक बढेकाले सुन व्यापारीले बिक्री गर्न आउनेलाई सम्झाइ बुुझाइ पठाउने समेत गरेका थिए । बिक्री गर्न बाध्य भएकालाई  व्यवसायीले २ बजेपछि आउनु भन्दै फर्काउँदै गरेका थिए । सामान्यतया १० बजे सुन पसल खुल्ने गर्छन्। त्यसपछि बैंकबाट पैसा ल्याउँदा १२–१ बज्ने भएकाले पनि २ बजेपछि आउनुुस् भन्ने गरिएको शाक्यले बताए ।

नागरिकले ढिक्का सुनभन्दा गहना किन्ने भएकाले त्यही सुन बिक्री गर्न आउने गरेको व्यापारीको भनाइ छ ।सुन महँगो भएका बेला पुराना हार, नेकलेस, चुरालगायत सुनका गरगहना बिक्री गर्ने धेरै हुन्छन् । भाउ बढेदेखि नै सुन बिक्री गर्नेको चाप पर्ने व्यवसायी बताउँछन् । त्यसैगरी, मूल्य घट्दा सुन किन्ने बढ्छन् ।
 
सुनको मूल्य बढ्दै जाने हो भने बजारले धान्नै नसक्ने गरी बिक्रेता बढ्ने व्यवसायी बताउँछन् । किन्ने र बेच्नेको सन्तुलन हुनुपर्ने उनीहरूको भनाइ छ । दुई पक्षबीच सन्तुलन भएन भने बजारमा असन्तुलन हुने व्यवसायीको भनाइ छ ।

लगानीका लागि निश्चित बजेट हुने भएकाले ग्राहकले ल्याएजति सुन किन्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँछन् । खरिदमात्र गर्ने तर बेच्न पाइएन भने व्यवसायीलाई समस्या पर्छ । माग र बिक्री दुवै बराबर भएको अवस्थामा खासै फरक पर्दैन । व्यवसायीलाई ग्राहकले ल्याएको सुन किन्नैपर्छ भन्ने बाध्यता हुँदैन । व्यवसायीले ग्राहकसँगको सम्बन्ध र आवश्यकताअनुसार सुन किन्ने गर्छन् ।

सुनको मुल्य अझै बढ्ने हो भने असहज परिस्थिति आउने व्यवसायीको भनाइ छ । यस्तो अवस्थामा बैंकको भूमिका पनि ठूलो हुने व्यवसायीको तर्क छ । केही समयअघि व्यवसायीले नेपाल राष्ट्र बैंकलाई बेच्नेमात्र होइन, सुन किन्ने नीति बनाउन सुझाव दिएका थिए ।

पुरानो सुन बिक्री बढेपछि बैंकले ल्याउने सुनको ढिक्का बिक्री हुन छाडेको छ । तीज, दशैंको सिजन सकिएको र विवाहको लगन, तिहार जस्ता चाडपर्व आउन अझै केही समय लाग्ने भएकाले पनि सुन बिक्री हुन अझै समय लाग्ने व्यवसायीहरु बताउँछन् । त्यस्तै भारतमा बिक्री हुने सुनमा कमी आएका कारणले पनि स्टक रहेको उनको भनाइ छ ।
सुनको मूल्य बढ्दा बिक्रीमा कमी आउने र मूल्य घटदा बिक्री बढी हुने गरेको छ।

विश्व बजारमा शक्तिशाली राष्ट्रबीचको व्यापारिक तनावले स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको हो । विश्व बजारमा नै सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रि«य बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ४ सय डलर पुगेको छ ।सुनमा गरिएको लगानीलाई सबैभन्दा सुरक्षित मानिने गर्छ । त्यसैले पनि शेयर र डलर खरिद गर्न छोडेर सुन खरिद गर्न थालिएकाले भाउ बढेको हो ।


 

प्रतिक्रिया दिनुहोस