शीर्षकहरू

जाजरकोट भूकम्पपीडितलाई पहिलो किस्ताबापत २५ हजार रुपैयाँ निकासा

जाजरकोट भूकम्पपीडितलाई पहिलो किस्ताबापत २५ हजार रुपैयाँ निकासा

काठमाडौं । जाजरकोट भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न सरकारले पहिलो किस्ताबापत प्रतिघर २५ हजार रुपैयाँ बजेट निकासा गरेको छ । राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प पीडितलाई पहिलो किस्ताबापत कूल १ अर्ब ४१ करोड रुपेयाँ बजेट निकासा भएको जानकारी दिएको हो ।

कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट, रुकुम पश्चिम, बाजुरा, बझाङ र सल्यानमा क्षति पुर्‍याएको छ । सरकारले बेलैमा पाल र न्यानो कपडा व्यवस्था गर्न नसक्दा जाजरकोटमा मात्रै भूकम्पबाट बँचेका आधा दर्जन नागरिकको चिसोले कठ्याङ्‌ग्रिएर ज्यान गइसकेको छ । उनीहरूलाई तत्काल अस्थायी आवास आवश्यक छ ।

अस्थायी आवास बनाउनकै लागि प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूको खातामा आज (सोमबार) बजेट पठाएको हो । जाजरकोट र पश्चिम रुकुममा ५०/५० करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा २ करोड गरी जम्मा १ अर्ब ४१ करोड रुपैयाँ निकासा प्राधिकरणले जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयको खातामा पठाइएको रकम तत्काल स्थानीय तहमा पठाइने र भूकम्प प्रभावितले ती तहमा अनुसूची बमोजिम निवेदन दिनासाथ पहिलो किस्ताबापत २५ हजार रुपैयाँ राहत प्राप्त गर्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अस्थायी आवास निर्माण सम्पन्न गरेपछि भूकम्पपीडितले दोस्रो किस्ताबापत थप २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्‌ ।