
काठमाडौं । अहिले नेपाल सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गरिरहेको छ । कसैको बहुमत नपुग्ने (हङ पार्लियामेन्ट) मा तेस्रो स्थानमा खुम्चिएर पनि गठबन्धनको सौदामा बाजी मार्दै यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् ।
‘सर्वहारावर्गको मुक्ति’ नारा फलाक्दै अस्तित्वमा आएको, तर अहिले त्यस्ता नारा बिर्संदै जसरी पनि सत्तामा रहिरहने बानी परेको नेकपा (माओवादी केन्द्र) ले सरकार हाँकिरहँदा गरिबीको चपेटामा च्यापिएका नागरिकले आफ्नै अङ्गप्रत्याङ्ग बेच्न विज्ञापन गर्न थालेका छन् ।
सामाजिक सञ्जालमा फैलिरहेको एउटा सूचनाले माओवादी आन्दोलन र त्यसका नेता/कार्यकर्ताको सत्तारोहणको औचित्य, पछिल्लो दशकभर सो दल सत्तामा रहँदा झन्झन् जर्जर हुँदै गएको नागरिकको अवस्था र राजनीतिक संरक्षणमा थापिएको वित्तीय पासोको जञ्जालमा फसेका नागरिकको हालत वर्णन गर्छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व), कावासोती नगरपालिकाको कुमारवर्ती कलेज अघिल्तिर रहेको बिजुलीको पोलमा केही दिनअघि एउटा याचनामूलक सार्वजनिक पत्र टाँसिएको थियो । सो पत्रमा व्ययभार चलाउन धेरै गाह्रो भएकोले किड्नी बेच्न खोजेको र आफूलाई यसो गर्न नरोक्न नेपाल सरकारसँग पनि याचना गरिएको छ ।
पत्रमा लेखिएको छ, ‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई बेभार (व्यवहार) चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध नरोक्नाका लागि ।’ ती व्यक्तिले बिजुलीको पोलमा टाँसिएको सार्वजनिक पत्रमा आफ्नो सम्पर्क नम्बर र ब्लड ग्रुप पनि उल्लेख गरेका छन् ।
यो सामग्री तयार गर्दैगर्दा निजले पत्रमा उल्लेख गरेको नम्बरमा फोन गर्न खोज्दा सम्पर्क हुन सकेन । तर, विद्युतीय सामाजिक सञ्जालहरूमा सो फोन नम्बरमा फोन गर्दा सम्बन्धित व्यक्ति नै बोलेको र आफू साँच्चै समस्यामा परेकाले किड्नी बेच्ने बाहेक अन्य विकल्प नभएको लेखिएका पोष्टहरू गरिएका छन् ।
१० वर्षे सशस्त्र विद्रोह त्यागेर शान्तिप्रकृयामा आएको माओवादीको सत्तायात्रा २०६२ वैशाख १२ गतेदेखि शुरु भएको थियो । त्यसपछि केही समयबाहेक सत्तामै रहेको माओवादीले २०७२ असोज २५ गते यता भने सरकार छाड्नु परेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा पनि पार्टीका तर्फबाट मन्त्रीहरूलाई सरकारमै राखेर माओवादी आन्दोलनमा लागेको थियो ।
माओवादीको सत्ता अराजकता : अर्थतन्त्र चौपट पारेर ‘सडक संघर्ष’
झण्डै ९ वर्षसम्म लगातार सत्तामा रहेको माओवादीले अँगालेको ‘आसेपासे पूँजीवाद’ले मुलकको अर्थतन्त्रका चारै क्षेत्रमा संकट निम्त्याएको छ । यतिबेला बाह्य क्षेत्रमा केही सुधारबाहेक अर्थतन्त्रको वास्तविक, मौद्रिक र वित्तीय क्षेत्रको स्वास्थ्य राम्रो छैन ।
प्रमुख चाडबाडको छेकोमा देशभरका ठूला शहरबाट व्यवसायीहरू पलायन हुँदैछन् भने कालोसूचीमा पर्ने नागरिकको संख्या दिनानुदिन बढ्दैछ । रोजगारी बढाउन नसकेको माओवादी नेतृत्वको सरकारकै कारण बजारमा बस्तु तथा सेवाको माग समेत खुम्चिएको छ ।
दिनहुँ हजारौं युवा रोजगारी खोज्दै विदेश पलायन भैरहेका छन् । हिमालदेखि तराईसम्म कृषियोग्य जमिन बाँझिने क्रम पछिल्ला वर्षहरूमा झनै बढेको छ । आर्थिक मन्दीका कारण रोजगारी र आयआर्जनको स्रोत खुम्चिँदा उपभोक्ताको क्रयशक्ति निकै घटेको छ । महँगीले आम नागरिकलाई आलसतालस पारेको छ । सरकारका फर्जी तथ्यांक र बजारको अवस्थामा एकरत्ति मेल खाइरहेको छैन ।
बेरोजगारी, राजनीति संरक्षित सीमान्तीकरण, स्रोतमा दलीय हालीमुहाली, साहुकारहरूलाई संरक्षण र गरीबलाई थप पीडा दिनेगरी माओवादीले राजनीतिक शक्ति दुरुपयोग गर्दा पछिल्लो समय नागरिकले किड्नी बेच्ने विज्ञापन गर्नुपर्ने अवस्था निम्तिएको हो ।
जग्गा कित्ताकाट खुलाउन सरकार नै बन्यो ‘पावरब्रोकर’
गिरिबन्धु टी स्टेट प्रकरण : अप्ठेरोमा प्रचण्ड, अर्बौं ठगीमा माओवादीकै कनेक्सन !
प्रतिक्रिया दिनुहोस