काठमाडौं । करिब पाँच वर्षपछि नेपालको पर्यटन व्यवसायमा केही उत्साह देखिएको छ । कोभिड-१९ (कोरोना) भाइरस संक्रमणले विश्वभर महामारी निम्त्याएसँगै नेपालको पर्यटन क्षेत्र ठप्प भएको थियो । तर, गएको अगष्टदेखि सेप्टेम्बरसम्ममा १ लाख १७ हजार पर्यटक औपचारिक बाटो हुँदै नेपाल आएका छन् । विदेशी पर्यटकको संख्या उल्लेख्य बढेपछि होटल, ट्राभल एजेन्सी र ट्रेकिङ कम्पनी लगायतको व्यापार पनि बढेको छ ।
होटल संघ नेपाल (हान)का अनुसार काठमाडौंका नयाँ होटलहरूमा कोठा पाउन मुस्किल भएको छ भने समग्रमा काठमाडौं उत्यकाभित्र रहेका तारे होटलमा ‘अकुपेन्सी’ ८० प्रतिशत पुगेको छ ।
हानका अध्यक्ष विनायक शाहका अनुसार कोरोना महामारीअघि सन् २०१८ मा होटल अकुपेन्सी ७० प्रतिशतसम्म पुगेको थियो । हाल उपत्यकामा होटलको संख्या धेरै भएकाले सबै होटलको अकुपेन्सी बराबर छ भन्ने नभएको उनी बताउँछन् । उनले भने, ‘काठमाडौंमा पाँचतारे होटल नै धेरै छन् । नयाँ-पुराना दुबै छन् । तर, पर्यटकहरू नयाँ होटलमा बस्न चाहन्छन् ।’
विनायक शाह ।
अक्टोबर महिनामा हवाइ मार्ग हुँदै एक लाख १७ हजार पर्यटक नेपाल भित्रिएका छन । एकै महिनामा भित्रिएको यो संख्या अहिलेसम्मकै धेरै र सन्तोषजनक रहेको अध्यक्ष शाह बताउँछन् । गतवर्ष अक्टोबरमा ५२ हजार १२१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोभिड-१९ अघि २०१९ को अक्टोबरमा १ लाख १० हजार विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
होटल संघ नेपालमा आबद्ध ३५ सयभन्दा बढी होटलमा ४५ हजार कोठा छन् । काठमाडौं र चितवनका होटलमा ८०/८०, पोखरामा ७० र लुम्बिनीमा करिब ५० प्रतिशत अकुपेन्सी रहेको हानले जानकारी दिएको छ ।
पर्यटकीय क्षेत्रहरूमा रहेका होटलहरूको व्यापार यो सिजनमा राम्रो रहेको अध्यक्ष शाह बताउँछन् । सरकारले पूर्वाधारमा लगानी नगरेका कारण धेरै पर्यटक नेपाल आउन चाहेर पनि नआएको उनको भनाइ छ । उनले भने, ‘अहिले नै पनि निजी क्षेत्रको लगानी र उनीहरूको क्षमताभन्दा जम्मा एकतिहाइ मात्र पर्यटक नेपाल आएका छन् । राज्यले लगानीमा ध्यान दिने हो भने हामी पनि वार्षिक ३०–३५ लाख पर्यटक धान्न सक्छौं ।’
शाहका अनुसार काठमाडौं र चितवनका होटलमा पर्यटकहरू राम्रो आइरहेको तथ्यांकले नै देखाएको छ । तर, भैरहवामा अन्तराष्ट्रिय विमानस्थल बनेपनि सञ्चालन हुन नसक्दा त्यहाँका व्यवसायीहरू समस्यामा परेका छन् । व्यवसायीहरूले अन्तराष्ट्रिय विमानस्थल बनेका कारण पाँचतारे होटल बनाए पनि अहिले बैंकको ऋण तिर्न नसकेर कालो सूचीमा पर्न थालेका छन् ।
पर्यटक केन्द्रित पाँचतारे होटलको संख्या नेपालमा १५ पुगिसकेको छ । विदेशी व्यवस्थापन श्रृंखला (चेन) रहेकाले यी होटलहरूमा विकसित देशमा जस्तै सुविधा व्यवस्था गरिएको छ ।