छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु
काठमाडौं । अछाम, पञ्चदेवल विनायक नगरपालिका-४ टोड्केसालमा सु.प.प्र. ०१ ००१ ह ५५४५ नम्बरको अटोको ब्रेक फेल भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कमलबजार नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक बोहरा र सोही नगरपालिका-२ बस्ने २६ वर्षीय जनक खड्का रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाम लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्युठान, ऐरावती गाउँपालिका-२ ददेरीपाटामा रा.३ प ८४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा चालक ऐरावती गाउँपालिका-५ झिवाङ बस्ने ६० वर्षीय हरिलाल थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया, गुलरिया नगरपालिका-५ गुलरियास्थित भित्री सडक सडकमा भे.१ ख २४११ नम्बरको मिनीट्रकमा भे.११ प २६४७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका-२ बस्ने ७३ वर्षीय कृष्ण प्रसाद अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिनीट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, चौतारा सागाचोकगढी नगरपालिका-५ कामी टोलमा बा.२ ख ८२१३ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक काभ्रे पनौती बस्ने ३५ वर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
झापा, कमल गाउँपालिका-३ सहिद गेटस्थित सडकमा भएको सवारी दुर्घटनामा परी को.२१ प ७७ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-४ बस्ने ३१ वर्षीय मदन बहादुर लाय मगरको बुधबार दिउँसो मृत्यु भएको छ । उक्त मोटरसाइकल भैसीसँग ठक्कर खाई लडेको अवस्थामा अल्फाबेट नखुलेको १८४५ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि बीएण्डी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल मोटरसाइकलसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिरहा, सिरहा नगरपालिका-१ स्थित सिरहा-माडर सडक खण्डमा ज.१ च १०७१ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सिरहा नगरपालिका-२ हटिया टोल बस्ने ३६ वर्षीया जिबछी देवी यादवको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । जिप चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-६ मालपोत चौकमा को.२ ह ५५६५ नम्बरको अटो बुधबार साँझ दुर्घटना हुँदा मोरङ केराबारी गाउँपालिका-५ बस्ने ३४ वर्षीय पदम बहादुर लिम्वुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही, हरिवन नगरपालिका-११ कडरिया चौकमा ना.६ ख ९११७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ८० वर्षीय मान बहादुर राईको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका-६ सुक्चरमा को.९ प ७८२८ नम्बर र को.२९ प ६१५९ नम्बरका दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा को.९ प ७८२८ नम्बरको मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-५ बस्ने २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकलमा सवार अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरी, राजबिराज नगरपालिका-१० कदमाहामा प्र.२-०३-०१६ प ३९९० नम्बरको मोटरसाइकललाई प्र.२-०१-००३ प ३०७९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा प्र.२-०३-०१६ प ३९९० नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-१० बस्ने ३० वर्षीया अमृता देवी यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ठक्कर खाने मोटरसाइकलका चालकको गजेन्द्र नारायण सिंह अस्पतालमा राजबिराज सप्तरीमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, कञ्चन गाउँपालिका-४ भुपुसैनिक चोकमा लु.४३ प ३३१३ नम्बरको स्टकुरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ शिवालय चोक बस्ने ६२ वर्षीय होम बहादुर खत्रीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।