aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

  • रासस
    रासस
  • मंगलबार, २८ कार्तिक २०८०
Global IME
ime Limited
वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती
DHI
nmb

फुङ्लिङ ।  ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । 

फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लैजाने छन । उनले भने,“अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।” अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै लैजानुभएको उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गरे । 

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर जानुभयो । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । 

उनले किवी खेती विस्तारै गर्नु थाल्नुभयो । लालीखर्कका फाँटमा किवीको बोट झाङ्गिन थालेको छ । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेका उनले बताए । अर्को वर्षदेखि व्यावसायिक उत्पादन हुने उहाँको भनाइ थियो। कृषि ज्ञान केन्द्र ताप्लेजुङले किवी किसानलाई रु पाँच लाख अनुदान दिएको छ । रु पाँच लाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको किसान लिम्बूले बताए ।

जिल्लामा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउनेगरेका छन् । फुङ्लिङ –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किवी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको सुनाए । यहाँले कमै, कोदोजस्ता खेती गर्ने बारीमा किवी खेती विस्तार गरेका हुन ।

छ वर्षअघि व्यावसायिक किवी खेती सुरु गरेका गुरुङले तीन वर्षयता किवी खेतीबाट राम्रो आम्दानी लिँदैआएको बताए । उनले गत वर्ष किवीबाट रु दुई लाख ५० हजार आम्दानी गरेको र यस वर्ष पनि हाल धमाधम किवी बिक्री गर्न सुरु भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष किवीको बजार मूल्य पनि राम्रो रहेको छ ।

उनले जस्तै जिल्लामा धेरै किसानले किवीको व्यावसायिक खेती गर्दैआएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजङ्घा , फक्ताङ्लुङ , सिदिङ्वा, मैवाखोला गाउँपालिका लगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किवी खेती लगाएका छन् । 

एक पटक बिरुवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किवीबाट राम्रो फाइदा हुने सिरिजङ्घा –५ पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताउनुभयो । सुरुमा जिल्लामा किवी खेती विस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किवी खेतीका अभियान्ताका रूपमा परिचित बुडाक्षेत्रीले किवी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताए । 

आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उनको भनाइ छ । उनले भने “बजार अभावका बाबजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका छन् ।”

किवीको स्थानीय बजार मूल्य प्रतिकिलोग्राम रु दुई सय ५० सम्म रहेको छ । हाल किवीको मौसम सुरु भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरु गरेको किसानको भनाइ छ । सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किवी बिक्री गर्दै आएका किसानले जिल्ला बाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किवीको माग हुन थालेको किसान अमृता गुरुङले बताए ।

फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हँुदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् । ताप्लेजुङमा सात÷आठ वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद÷बिक्री भएको किसानहरूको भनाइ छ । 

फक्ताङ्लुङ –४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस