काठमाडौं । पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गरेपछि नेपालभित्र नै विरोध शुरु भएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको सयुक्त सरकारले टिकटकले सामाजिक सदभाव विथोल्ने गतिविधि आउन थालेको भन्दै सोमबारको मन्त्रिपरिषदको बैंकले तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माले टिकटकमाथि प्रतिबन्ध लगाउनु पर्नाको कारणबारे प्रष्ट्याउँदै ‘सामाजिक सद्भाव विथोलिने’ गरी लगातार प्रचारप्रसार भइरहेको भनेकी छन् ।तर, सामाजिक सदभाव विथोल्ने काम टिकटकले मात्र गरेकोे छ भनेर विभिन्न क्षेत्रबाट प्रश्न उठन थालेको छ ।
यद्यपि, सरकारले यो निर्णय गर्नु चार दिनअघि मात्र सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर निर्देशिका जारी गरेको थियो । यसमा सामाजिक सञ्जालहरुलाई दर्ता हुन आह्वान गर्ने, कानुन विपरीतको ‘पोष्ट’हरु हटाउन निर्देशन दिने र असहयोग गरेमा बन्द गर्ने लगायतका विषयहरु थियो ।
उक्त निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली काँग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, नेपाली काँग्रेसका नेता तथा सासद प्रदिप पौडेल, राष्टिय स्वतन्त्र पार्र्टीका अध्यक्ष रवि लामिछाने , नेकपा एमालेले विश्वप्रकाश शर्मा, नेकपा एमालेलेका नेता नेकपा एमालेका महासचिव शंकर पोखरेल विरोध गरेका छन् । पोखरेलले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर, अहिले नियमनका लागि छनौट प्लेटर्फम नै बन्द गर्ने कुरा उचित नभएको टिप्पणी गरेका छन् ।
लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय अनुचित र अनुपयुक्त भएको बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकलाई बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमाथि टिप्पणी गर्दै लिङ्देनले यो अनुचित र अनुपयुक्त भएको बताएका हुन्। सामाजिक सञ्जालमा हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको भन्दै प्रतिबन्धलाई स्वीकार गर्न नसकिने उनको भनाई छ।
सरकारले टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको केहीबेरमा नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विपक्षमा धारणा सार्वजनिक गरेका छन् ।थापाले टिकटकमा प्रतिबन्ध लगाएर सरकार उल्टो बाटो हिंडेको बताए । ‘यसमा सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’, थापाले भनेका छन् ।
फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले टिकटक बन्द गर्नुभन्दा यसको खराब पक्षलाई बन्द गर्नु जरुरी रहेको बताए । ‘यो अभिव्यक्ति स्वतन्त्रताको सवाल हो । आमाबुवा पनि भिडियो बनाउने र मायाप्रेम साट्ने गर्नुहुन्छ । मान्छे क्रिएटिभ भएका छन् । खराबी कम गर्नुपर्छ, बन्द होइन’ गिरीले अनलाइनखबरसँग भने ।
उनले भने( टिकटकमा विकृति मिसिएर आयो । लाइभमा अवाञ्छित गतिविधि भएको पनि भनिन्छ । हामीले प्रयोग गर्न जानेनौं होला । एक किसिमले नराम्रो पनि भयो । नियमन गर्नु जरुरी छ ।’
टिकटक प्लाटफर्मबाट एकाएक चर्चामा आएकी प्रिज्मा खतिवडाले पनि प्लाटफर्म नै बन्द गर्ने सरकारी निर्णयप्रति असहमति जनाइन् । ‘सामाजिक सद्भावमा असर पुगेको हो भने यसमा नियमन हुनुपथ्र्यो । उच्छृंखल भिडियोमा नियन्त्रण हुनुपथ्र्यो । तर, प्लाटफर्म नै रोक्नु गलत हो’ उनले भनिन् ।
प्रिज्मा र प्रिन्सीले टिकटकबाट व्यवसायिक उत्पादनको बजारीकरण गर्दै आएका थिए । उनीहरुका लागि आयस्रोतको राम्रो माध्यम समेत बनेको थियो । अन्य केही सेलिव्रिटीले पनि टिकटकलाई ब्राण्ड इन्डोर्स गर्ने माध्यम बनाएका थिए ।
अभिनेता सलोन बस्नेतले पनि टिकटकमा रोक लगाउने सरकारी निर्णयको विरोध गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्( सहि हो सरकार, अपराधी समात्न सक्दैनौ, पोर्न ब्याण्ड गर । योग्यता बराबर रोजगार दिन सक्दैनौ । सयौंको घर चलाउने टिकटक ब्याण्ड गर । नियम होइन ज्ञान बाँड्ने पो होकि ।’
कोरियोग्राफर रामजी लामिछानेले टिकटक बन्द हुँदा यसले गीत संगीतलाई प्रत्यक्षरुपमा असर गर्ने टिप्पणी गरेका छन् । फिल्म लेखक प्रदीप भारद्धाज लेख्छन्– टिकटक होइन, जनताको आवाज उठाउने सार्वजनिक मञ्च बन्द गर्ने निर्णय भएको हो ।’